काठमाडौ, भाद्र ४ - उनीहरूले शिवजीको जटाधारी रुप देखेका थिएनन् । तर, बेलायती उपनिवेश विरुद्ध लड्ने केन्याका ती किकुयु आदिवासीका लामा लामा जटा शिवजीका भन्दा कम थिएनन् । युद्धका क्रममा सन् ५० को दशक पुरै जंगलमा बिताएका उनीहरू केश काट्न र सरसफाइ गर्न नभ्याएर जटाधारी बनेका थिए । गत साता बसन्तपुरको तिकीझ्यामा ड्रेडलक बनाउन पुगेका आयुस महर्जन, १९, सँग ती मउमउ विद्रोहीजस्तो बाध्यता थिएन ।
ड्रेडलक ताहाचल निवासी आयुसका लागि मात्र फेशन हो । उनलाई ती मउमउ विद्रोहीजस्तो 'ड्रेड' अर्थात 'डर' लाई 'लक' अर्थात् नियन्त्रण गर्नु छैन । त्यसका लागि ४ हजार रुपैयाँ तिरेका उनी प्लस टुको रिजल्ट आउनासाथ कडा र अनुशासित विद्यार्थी जीवनबाट उन्मुक्ती पाएकाले ड्रेडलक बनाउन बसन्तपुर हान्निएका हुन् । 'कलेजले ड्रेडलक राख्न दिने भए धेरै अगाडि बनाइसक्थेँ,' उनले भने ।

आयुसजस्तै जैसीदेवलका सुजन रञ्जितकार, सञ्जीव खड्गी, दिनेश महर्जन र सुहेल मानन्धर फेशनमा ड्रेडलक, ट्याटुज र पियर्सिङ पुस्ताका केही प्रतिनिधि पात्र हुन् । विदेशी च्यानल र ठमेल घुम्न आउने पर्यटकको नक्कल गर्दै ट्याटु हान्न र पियर्सिङ गर्न सिकेका हुन् उनीहरूले । उनीहरूले साथीको सहयोगमा ट्याटु खोपेका, पियर्सिङ गरेका र ड्रेडलक राखेका छन् ।
कान र जिब्रो छेड्ने र मृत्युपछिको भविष्य सुनिश्चित गर्न सियोले खोपी शरीरका विभिन्न भागमा रङ भर्ने प्रचलन नेवार र थारु समुदायमा परापूर्व कालदेखि नै चलेको हो । 'विदेशी सिको गर्दै त्यही प्रचलनलाई आधुनिकीकरण गरी फेसनका रुपमा प्रयोग गरिएको मात्र हो,' स्वस्तिक ट्याटु स्टुडियोका सञ्चालक सञ्जय खड्गी, २५, ले भने । उनका अनुसार, ४/५ वर्ष यता काठमाडौंका बसन्तपुर देशी/ विदेशीका सबैका लागि एउटा यस्तो केन्द्र बनेको छ जहाँ व्यक्तित्व अनुसारको ड्रेडलक, ट्याटु र पियर्सिङ गर्न पाइन्छ । त्यही भएर सञ्जय र फ्रिक स्ट्रिट ट्याटुका सञ्चालक दिनेश, २५, जस्ता यो पेशामा जमेका छन् ।
ललितकला क्याम्पसबाट फाइन आर्टस्मा मास्टर गरिरहेका सञ्जयका अनुसार, उनको स्टुडियोमा आउने करिब ७० प्रतिशत ग्राहक नेपाली टिनएजर छन् । त्यसमा पनि टिनएजर युवतीको संख्या ४० प्रतिशतभन्दा बढी छ । करिब डेढ दर्जनको संख्यामा रहेका काठमाण्डू उपत्यकाका ट्याटु, ड्रेडलक र पियर्सिङ सेन्टरमा मासिक सरदर ५० नेपाली ग्राहक पुग्ने व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार, शैलीमा विविधता भएकाले खासगरी फरक पहिचानका शौखिन तन्नेरीको जमातमा ड्रेडलक, ट्याटु र पियर्सिङको 'क्रेज' बढेको हो ।
विश्वका विभिन्न धर्म, संस्कृति र परम्परासँग जोडिएका र आ-आफ्नै मिथकसमेत भएका ड्रेडलक, ट्याटु र पियर्सिङ फेसनमात्र होइन, कलाको फरक विधा अर्थात् 'बडी आर्ट' पनि हो । जस्तो, मानिसको उचाइ र अनुहारको बनौट अनुसार सुहाउँदिलो ड्रेडलक बनाउनु राम्रो कलाकारको खुबी भएको बसन्तपुरस्थित फ्रिक स्टि्रटका सञ्चालक दिनेश बताउँछन् । ड्रेडलक आर्टिस्टकै सल्लाहमा भोटेबहालका लाम्चो अनुहार भएका सञ्जीव, २२, ले मसिनो लामो ड्रेडलक बनाएका छन् ।
सुजन, २२, को पियर्सिङ र ट्याटुले झै सञ्जीवको ड्रेडलकले साथीभाइमाझ उनको फरक पहिचान बनाएको छ । 'ड्रेडलकका कारण साथीभाइले टाढैबाट र पछाडिबाट पनि मलाई चिन्छन्,' उनले भने । त्यसरी चिनिन पाउँदा उनलाई गर्व लाग्छ रे ! त्यसो त एस आकारको आँखीभौंको पियर्सिङ विदेशीको समेत नदेखेकोमा सुजन बताउँछन् । 'पियर्सिङ मेरो फेसन स्टेटमेन्ट हो,' उनी भन्छन्, 'पाँच वर्ष अगाडि मैले आफैँ खोपेको हुँ जसका कारण मानिसले मलाई छिट्टै नोटिस गर्छन् र एकै पटकको भेटमा चिन्छन् ।'
प्राचीन इजिप्टमा कैदी भागेमा उनीहरूलाई चिन्न र समातेर ल्याउन सजिलो होस् भनेर ट्याटु खोपिन्थ्यो । भाग्न सफल भएका बन्दी पुनः पक्राउ पर्नबाट जोगिन ट्याटुलाई तोडमरोड गरी कलात्मक रुप दिन्थे । ताइवानजस्ता केही ठाउँमा प्राचीन कालमा महिलाहरू कपडा बुन्न र घर ब्यबहार सम्हाल्न र पुरुष आफ्नो समुदायको रक्षा गर्न सक्षम भएको प्रतीकका रुपमा ट्याटु खोपिन्थ्यो र पियर्सिङ गरिन्थ्यो । करिब १० हजार वर्ष पहिले सुरु भएको मानिने ट्याटु आफ्ना अधिकृत पहिचान गर्न बेलायती सेनाले २ सय वर्षसम्म प्रयोगमा ल्यायो । अहिले त्यही ट्याटु फेसनमात्र होइन खोपिसकेपछि मेट्न नमिल्ने भएकाले चुनौतिपुर्ण कलाकारिता पनि बनेको छ । 'ट्याटु च्यालेन्जिङ बडी आर्ट भएकाले एक पटक बिगि्रएपछि क्यान्भास फेर्न वा मेटेर पुनः बनाउन मिल्दैन,' सञ्जय भन्छन् ।
तीन वर्षभन्दा अगाडि ट्याटु खोपेका, ड्रेडलक राखेका र पियर्सिङ गरेका यी युवाहरूले पश्चिमा शैलीका त्यस्ता ट्याटु, पियर्सिङ र ड्रेडलक नेपाली समाजमा पाच्य पारेका मात्र छैनन्, त्यसलाई नेपालीकरणसमेत गरेका छन् । करिब दुई दशकदेखि नेपालमा फेसनका रुपमा देखिएको ट्याटु, ड्रेडलक र पियर्सिङ देख्दा छ वर्ष अगाडिसम्म कतिपय मानिस तर्सिन्थे । 'छ वर्ष अगाडि ट्याटु र पियर्सिङमात्र होइन, मेरै ड्रेडलक देखेर मानिस तर्सिन्थे,' दिनेश सम्झन्छन्, 'अहिले धेरैले राख्न थालेपछि ड्रेडलक, ट्याटु र पियर्सिङ सामान्य बन्दै गएको छ ।'
उनीहरू कलाकारका रुपमा जस्तो पायो त्यस्तो ट्याटुमात्र खोप्दैनन् । ट्याटुमार्फत कुनै न कुनै सन्देश पनि प्रवाहित गर्छन् । सुहेल, १८, कै कुरा गरौं । उनले काखी मुनि बुद्ध र पाखुरामा हजुरआमाको तस्बिर खोपेका छन् । 'मेरी मायालु हजुरआमा मेरो पाखुरामा अझ जीवित हुनुहुन्छ,' सुहेल भन्छन्, 'बुद्धको ट्याटुले म कुन धर्मको मानिस हो भन्ने देखाउँछ ।'
प्रकाशित मिति: २०६७ भाद्र ४ ०३:००
