लोकमणि राई
काठमाडौ, आश्विन ७ - नेपाल र भारतबीच पञ्चेश्वर बहुउदेश्यीय आयोजना निर्माणका लागि पञ्चेश्वर विकास प्राधिकरणको विधानमा सोमबार सहमति जुटेको छ । यससँगै १८ वर्षदेखि प्रतिक्षाको विषय बनेको पञ्चेश्वर आयोजना बन्ने बाटो खुलेको छ ।
'सोमबार पञ्चेश्वरको विधानलाई अन्तिम रुप दिने काम भयो,' वार्तामा सहभागी उर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले भने, 'सानातिना भाषागत त्रुटी हेरेर मंगलबार हस्ताक्षर हुन्छ ।'
विधानले प्राधिकरणको संरचना, काम, कर्तव्य, अधिकार तथा दायित्वलगायतका कुरा निर्धारण गर्छ । यसैका आधारमा प्राधिकरण सञ्चालन हुन्छ । नेपाल र भारत दुई देशका अधिकारी रहने प्राधिकरण यहि विधानका आधारमा सञ्चालन हुनेछ । प्राधिकरण गठन गरि पञ्चेश्वर अगाडि बढाउने सहमति यसअघि नै भएको थियो ।
प्राधिकरणका अध्यक्षका सम्बन्धमा पनि सहमति जुटेको प्रवक्ता अधिकारीले बताए । अध्यक्ष नेपाली अधिकारी हुने की भारतीय अधिकारी हुने भन्ने मंगलबार सहमतिमा हस्ताक्षर भएपछि सार्वजनिक गरिने उनले बताए । प्राधिकरणको कार्यालय महेन्द्रनगरमा रहने यसअघि नै तय भइसकेको छ । सहमतिमा अन्तिम हस्ताक्षर सचिव स्तरमा हुनेछ । नेपालका तर्फबाट उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतका तर्फबाट भारतीय जलस्रोत सचिव आलोक रावतले सहमतिमा हस्ताक्षर गर्नेछन् ।
गत साउन साउनमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नेपाल- भारत पञ्चेश्वर प्राधिकरण स्थापना गरि पञ्चेश्वर बहुउदेश्यीय आयोजना अगाडि बढाउने सहमति भएको थियो । साउन १८ मा प्राधिकरण कार्यालय स्थापना गर्ने कार्यादेशमा सम्झौता भएको थियो । त्यतिबेला मोदीले नेपालको संसदमा १ वर्षभित्र देखिने गरि पञ्चेश्व आयोजनाको काम प्राथमिकताका साथ अघि बढाउने बताएका थिए ।
महाकाली सन्धी भएको १८ वर्षपछि त्यस अन्तर्गतको पञ्चेश्वर आयोजना प्राधिकरणमार्फत अघि बढाउने ढोका खुलेको हो । यसअघि २०६६ सालमा नेपाल- भारत उर्जा सचिवस्तरिय संयुक्त अयोगको पोखरामा बसेको तेस्रो बैठकले पञ्चेश्वर प्राधिकरणसम्बन्धी १९ बुँदे कार्यादेश तयार गरेको थियो । तर भारतले कार्यादेशको १७ र १८ बुँदामा संशोधन हुनुपर्ने अडान राख्दा ७ वर्ष ढिलाइ भएको हो ।
कार्यादेशको १७ औं बुँदामा आयोजनालाई आवश्यक सामान र उपकरणमा दुवै देशले भन्सार छुट दिने प्रावधान थियो । यो प्रावधान दुरुपयोग हुनसक्ने भन्दै भारतले संशोधनको माग राखेको थियो । त्यसमा आयोजनाले सिफारिस गरेका सामान र उपकरणलाई मात्र दुवै देशको भन्सार छुट हुने प्रावधानमा सहमति जुटेको थियो । त्यस्तै कार्यदेशको १८ औं बुँदामा आयोजनामा काम गर्ने दुवै देशका कर्मचारीलाई कुटनीतिक सुविधा दिने उल्लेख थियो । त्यसको सट्टामा आयोजनामा काम गर्ने कर्मचारीले सम्बन्धित देशको कानून मान्नुपर्ने र आयोजनामा गरको कामको आधारमा मुद्धा चलाउन वा थुन्न पाइने प्रस्तावमा सहमति जुटेपछि मोदी भ्रमणका बेला कार्यादेशमा हस्ताक्षर भएको हो ।
महाकाली नदीमा पहिचान गरिएको पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको क्षमता ६ हजार ७ सय २० मेगावाट छ । यसमा पञ्चेश्वर बाँध (मुख्य बाँध) को जडित क्षमता ६ हजार ४ सय ८० मेगावाट रहने छ । यो बाँधबाट वाषिर्क १० हजार ६ सय ७१ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।
पञ्चेश्वर बाँधबाट विद्युत उत्पादन गर्दा प्रवाह गरिने पानीबाट उत्पन्न हुने बाढी नियमन गर्न २५ किलोमिटर पर रुपालीगढ रिरेगुलेटिङ बाँध निर्माण गरिनेछ । यसको जडित क्षमता २ सय ४० मेगावाट रहनेछ भने वाषिर्क उर्जा उत्पादन १ हजार ६ सय ५० गिगावाट आवर रहनेछ ।
कूल निर्माण लागत ३ खर्ब ३६ अर्ब अनुमान गरिएको यो आयोजनाका लागि नेपालले १ खर्ब २६ अर्बदेखि १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने अनुमान गरिएको छ । बाँकी लगानी भने भारतले गर्ने सहमति भएको छ । निर्माण अवधि १० वर्ष छ । आयोजनाका लागि नेपालले वाषिर्क करिब १३ अर्ब रुपैयाँमात्र लगानी गर्नुपर्ने भएकाले खासै आर्थिक भार नपर्ने बताइएको छ । यो आयोजना ७० मेगावाटको मध्य मस्र्याङीभन्दा १० गुणा र ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेतीभन्दा ६ गुणा सस्तो रहेको बताइएको छ ।
सीमा नदीमा निर्माण हुने यो आयोजनाको २ वटा अन्डरग्राउण्ड पावर हाउस हुनेछ । त्यसमध्ये एउटा पावर हाउस नेपालमा र अर्को भारतमा रहने सम्झौता छ । आयोजना बने नेपाललाई उर्जा उत्पादनबाट वाषिर्क साढे ३४ अर्ब रुपैयाँ र मत्स्य पालन, सिंचाई, जडिबुटी, फलफूल खेती आदिबाट वाषिर्क ५३ अर्ब ४१ करोड रुपैयाँ फाइदा हुने दाबी गरिएको छ । आयोजनाबाट सरकारले पाउने राजश्वबाट हरेक वर्ष बैतडी जिल्लाले ५६ करोड ४० लाख रुपैयाँ र डडेल्धुराले २६ करोड १० लाख रुपैयाँ प्राप्त गर्ने हिसाव छ । त्यस्तै दार्चुला, कञ्चनपुर, कैलाली, डोटी, बझाङ, बाजुरा र अछाम प्रत्येक जिल्लाले वाषिर्क २३ करोड ४० लाख रुपैयाँ पाउने जनाइएको छ ।
यो आयोजना बन्दा २ हजार ९ सय २६ घरधुरीका २२ हजार ७ सय ६५ जनालाई पुनर्वासमा लैजानुपर्छ भने १३ करोड ८५ लाख रुपैयाँ बराबरको कृषिबाट हुने आम्दानी घट्छ । त्यस्तै यो आयोजनाबाट अन्य वातावरणीय असर पनि पुग्छ ।
प्रकाशित मिति: २०७१ आश्विन ७ ०८:१७
http://www.ekantipur.com/np/2071/6/7/full-story/396116.html
