Friday, February 20, 2015

आधा मेगावाटका लागि डेढ अर्ब

लोकमणि राई       


काठमाडौ, माघ २९ -  करिब ४ सय किलोवाट (० दशमलव ४ मेगावाट) को दुई लघु जलविद्युत् आयोजना मर्मत सम्भारका लागि करिब १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव कार्यान्वयनका लागि निर्णय गर्न विद्युत् प्राधिकरण सञ्चालक समितिमा दबाब परेको छ ।
यो प्रस्ताव नयाँ जलविद्युत् आयोजना निर्माण लागतभन्दा कम्तीमा १६ गुणा महँगो हो । प्रतिमेगाबाट जलविद्युत् आयोजना निर्माण लागत करिब २० करोड रुपैयाँ छ ।
प्रस्तावित रकमबाट करिब ७ मेगावाट (७ हजार किलोवाट) क्षमताको नयाँ जलविद्युत् अयोजना निर्माण गर्न सकिन्छ । अर्थविद्हरूले भने विकासका नाममा यस्तो प्रस्ताव स्विकार्नु विकृति हुने बताएका छन् ।
नेपालस्थित जापानी सहयोग नियोग (जाइका) ले यस्तो दबाब दिएको उच्च सरकारी स्रोतको दाबी छ । 'जाइकाका प्रतिनिधिहरूले बारम्बार कहिले प्रस्ताव स्वीकृत हुन्छ भनेर सोधिरहनुभएको छ,' ती अधिकारीले भने ।
जाइकाले करिब १ अर्ब ५७ करोड १० लाख येन -करिब १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ) अनुदान सहयोगमा बझाङस्थित बझाङ साना जलविद्युत् केन्द्र, बाजुरास्थित बाजुरा साना जलविद्युत् केन्द्र र स्यार्पुदह साना जलविद्युत् केन्द्र मर्मत सम्भार गरिदिने प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले २०७० चैत १३ मा उक्त प्रस्ताव स्वीकृत गरी सम्झौताका लागि ढोका खोलिदिएको थियो ।
'पश्चिम नेपालको बझाङ, बाजुरा र स्यार्पुदह सामुदायिक लघु जलविद्युत् आयोजनाहरूको पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १ अर्ब ५७ करोड १० लाख बराबरको अनुदान सहायता स्वीकार गरी सोसम्बन्धी सम्झौतापत्रहरूमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने' मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । मन्त्रिपरिषदको निर्णयअनुसार जाइका र अर्थ मन्त्रालयबीच २०७१ वैशाख ९ मा सम्झौता भएको थियो ।
मर्मत सम्भारका लागि जाइकासँग सम्झौता भएको प्रत्येक आयोजनाको क्षमता २ सय किलोवाट छ । तर पछि सम्झौताको रकमले नपुग्ने भन्दै मर्मत सम्भारको सूचीबाट बाजुरा साना जलविद्युत् केन्द्र हटाइएको छ । हाल ३ वटै आयोजना बन्द छन् ।
अर्थ मन्त्रालयका एक अधिकारीले लागत ज्यादै महँगो भए पनि अरूले नै खर्च गरिदिने भएकाले प्रस्ताव स्विकारेको बताए । 'महँगो भए पनि सित्तैमा आउने हो भनेर प्रस्ताव स्विकारियो,' ती अधिकारीले भने । उनका अनुसार जाइकाले परामर्शदाता र ठेकेदार जापानमै छनोट गरेको हो । 'जापानमै टेन्डर आह्वान भयो, त्यहीँ ठेकेदार र परामर्शदाता छानियो,' उनले भने । उनका अनुसार गत कात्तिक २५ मा जापानको निप्पोन कोई परामर्शदा र मारुसिना सिताका कन्स्ट्रक्सन कम्पनी ठेकेदारका रूपमा जापानमै छानिएको हो । उनीहरूसँग ठेक्का सम्झौता पनि जापानमै जाइकाले गरेको हो ।
सम्झौताअनुसार ४ सय किलोवाटका २ लघु जलविद्युत् आयोजनाको मर्मत सम्भार लागत मात्र ९९ करोड ८८ लाख येन -करिब ८३ करोड ६४ लाख रुपैयाँ) छ । परामर्शदातालाई यो रकमबाट पारिश्रमिक दिइने छैन ।
यी ३ वटै आयोजना विद्युत् प्राधिकरणअन्तर्गत रहेकाले मर्मत सम्भारका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणसँग सहायक अनुदान सम्झौता पनि गर्नुपर्छ । 'सम्झौता (अर्थ र जाइकाबीचको) बाट प्राप्त हुने अनुदान रकम उल्लेखित लघु जलविद्युत् आयोजनाहरूको पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणलाई सहायक अनुदान सम्झौता गरी उपलब्ध गराउने' मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । तर प्राधिकरणसँग सहायक अनुदान सम्झौता भएको छैन । 'सोझै निर्णयका लागि प्राधिकरण सञ्चालक समितिमा गयो,' प्राधिकरण स्रोतले भन्यो, 'खासमा आर्थिक कारोबारका लागि प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखिदिनुपर्ने प्राविधिक समस्या उत्पन्न भएपछि यस्तो सम्झौता भएको जानकारी हामीसम्म आइपुगेको हो ।'
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सञ्चालक समितिमा विचाराधीन र दुई देशको कूटनीतिक सम्बन्धसँग जोडिएको विषय भन्दै निर्णय भएपछि मात्र औपचारिक प्रतिक्रिया दिने बताए । 'यो विषयमा प्राधिकरण सञ्चालक समितिमा छलफल भइरहेको छ,' उनले भने ।
अर्थविद् केशव आचार्यले महँगो प्रत्यक्ष अनुदान स्विकार्नै नहुने बताए । 'यसले मुलुकको अर्थतन्त्रलाई केही गर्दैन, आयोजनाको लागत मात्र बढाइदिन्छ,' उनले भने, 'अरूले गरिदयो भन्दैमा जे पनि स्वीकार्नु हुँदैन । यो विकासका नाममा विकृति हो ।' प्रत्यक्ष अनुदानमा दाताले सम्पूर्ण काम आफैं गरेर लागतको अन्तिम हिसाब मात्र सरकारलाई दिन्छ ।
आचार्यले अहिले विभिन्न आयोजनाको 'भेरियसन अर्डर' आइरहेको सन्दर्भ उल्लेख गर्दै भने, 'त्यसरी खर्च गरेपछि सरकारले बनाउने आयोनाको बेस प्राइस नै बढ्ने भयो । निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम भयो । निजी क्षेत्रले यसरी खर्च गर्न कहाँ सक्छन् । यसले विकास प्रयासमा असर गर्छ । दाताको प्रभाव बढाउन भूमिका खेल्छ ।'
जाइकाको प्रस्ताव वैदेशिक सहायता नीति विपरीतसमेत छ । नीतिअनुसार वैदेशिक सहायता देशको आवश्यकता र प्राथमिकताका आधारमा लिनुपर्छ । आचार्यका अनुसार आफ्नो प्राथमिकताका आधारमा अनुदान स्विकार्नुपर्ने बताए ।

प्रकाशित मिति: २०७१ माघ २९ १०:१२http://www.ekantipur.com/np/2071/10/29/full-story/403672.html                          

होलोग्रामको पैसा उठाउन नपाइने


काठमाडौ, पुस २७ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ व्यवसायी महासंघलाई स्वास्थ्य परीक्षण गर्ने संस्था मार्फत वैदेशिक रोजगारीमा जाने कामदारसँग २ सय रुपैयाँका दरले पैसा उठाउने काम तत्काल रोक्न निर्देशन दिएको छ ।
महासंघले २०६५ देखि कामदारको स्वास्थ परीक्षण गर्ने आफ्ना सदस्य संस्थाबाट अवैध रूपमा पैसा उठाउँदै आएको छ । प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चले उजुरी गरेपछि प्रशासनले त्यसलाई रोक्न शुक्रबार महासंघलाई लिखत निर्देशन दिएको हो । 'विदेश जानेहरूसँग स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू मार्फत क्षतिपूर्तिबापत भनी त्यहाँ संस्था (महासंघ) बाट प्रतिव्यक्ति २ सयका दरले रकम लिने गरेको सुनिन आएकाले उक्त कार्य तत्काल रोक्नु हुन,' जिल्ला प्रशासनको पत्रमा उल्लेख छ ।
साथै जिल्ला प्रशासनले महासंघलाई ७ दिनभित्र उपस्थित भई हिसाबकिताब देखाउन पनि निर्देशन दिएको छ । 'आर्थिक हिसाबकिताब प्रतिवेदनसहित छलफलका लागि पत्र पाएको मितिले ७ दिनभित्र यस कार्यालयमा उपस्थित हुन,' पत्रमा उल्लेख छ । उठाएको पैसा अनियमितता गरेको उजुरीका आधारमा जिल्ला प्रशासनले यस्तो निर्देशन दिएको हो । पत्र महासंघको कार्यालयमा शुक्रबार नै दर्ता भइसकेको छ ।
स्वास्थ्य परीक्षण गुणस्तरीय बनाउने भन्दै महासंघले श्रम तथा रोजगार मन्त्रालयबाट स्वास्थ्य परीक्षण प्रमाणपत्रमा होलोग्राम टाँस्ने स्वीकृति लिएको छ । मन्त्रालयले होलोग्रामबापत पैसा उठाउन अनुमति भने दिएको छैन । त्यसका बाबजुद कामदारलाई क्षतिपूर्तिका लागि भन्दै महासंघले प्रतिहोलोग्राम २ सय रुपैयाँका दरले पैसा उठाइरहेको छ । महासंघका सदस्य संस्थाले स्वास्थ्य परीक्षणबापत वैदेशिक रोजगारीमा जाने हरेक कामदारसँग २ सय रुपैयाँका दरले पैसा उठाएर बुझाइरहेको छ ।
त्यसबारे पटक-पटक उजुरी र गुनासो परे पनि श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ मौन छन् । उनको कार्यकालमा एकपटक परीक्षणका लागि भन्दै ६ महिना र अर्कोपटक अन्तिरिम कालका लागि भन्दै समय नतोकी होलोग्राम टाँस्ने स्वीकृति दिइएको छ ।
महासंघको वाषिर्क प्रतिवेदनअनुसार हालोग्रामबापत आर्थिक वर्ष २०६६/०६७ देखि २०७०/०७१ सम्म करिब ३२ करोड ६६ लाख ६९ हजार रुपैयाँ उठिसकेको छ । यसमध्ये कति रकम कामदारलाई क्षतिपूर्ति दिन खर्च भयो भन्ने विवरण प्रतिवेदनमा स्पष्ट उल्लेख छैन । महासंघले स्वास्थ्य परीक्षण प्रतिवेदनका कारण वैदेशिक रोजगारीबाट फर्केका हरेक कामदारलाई ४० हजार रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको दाबी गरेको छ । पछिल्लो समय कामदारले क्षतिपूर्ति नपाएको सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महासंघलाई क्षतिपूर्ति उपलब्ध गराउन लिखत निर्देशन दिएको थियो । त्यसका बाबजुद आर्थिक अनियमितताका कारण महासंघले क्षतिपूर्ति दिन नसकेको गुनासो स्वास्थ्य व्यवसायीहरूले गरिरहेका छन् ।
वैदेशिक रोजगार ऐनअनुसार स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई स्वास्थ्य परीक्षण गर्ने सम्बन्धित संस्थाले क्षतिपूर्ति दिनुपर्छ । तर महासंघले क्षतिपूर्तिको दायित्व आफूले लिएर कामदारसँग पैसा उठाइरहेको छ । प्रतिकामदार स्वास्थ्य परीक्षण गरेबापत २ सय रुपैयाँ बुझाए महासंघले क्षतिपूर्ति तिरिदिने भएकाले स्वास्थ्य परीक्षण गर्ने अधिकांश संस्थाहरूले नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र जारी गर्ने गरेका छन् ।
मञ्चका सल्लाहकार शोभित बस्नेतले महासंघले संस्था दर्ता ऐनको प्रावधानविपरीत सरकारसँग स्वीकृति नलिई कामदारसँ पैसा उठाएको, महासंघको विधानमा पनि कामदारसँग पैसा उठाउने प्रावधान नहरेको र कामदारले क्षतिपूर्ति नपाएको भन्दै जिल्ला प्रशासनमा उजुरी गरेको बताए । कामदारले क्षतिपूर्ति नपाएको भन्दै जिल्ला प्रशासनमा उजुरी गरेको बताए । 'शुक्रबारसम्म क्षतिपूर्ति नपाउने कामदारको संख्या १ हजार ९ सय ९० पुगेको छ,' उनले भने, 'अघिल्लो आर्थिक वर्ष क्षतिपूर्ति नपाउने ८ सय कामदारको संख्या जोड्ने हो भने झन्डै २ हजार ८ सयले क्षतिपूर्ति पाउन बाँकी छ ।'
नेपाल मेडिकल व्यवसायी संघले पनि महासंघविरुद्ध काठमाडौं जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा कारबाहीको माग गर्दै उजुरी गरेको छ । 'महासंघजस्तो सामाजिक संस्थालाई पैसा उठाउने अधिकार कसले दियो ?' संघका अध्यक्ष शमशेर नेपालीले भने, 'महासंघले २ सय रुपैयाँ उठाएर पैसा संकलन गर्ने र क्षतिपूर्ति दिने काम गरिरहेको छ । यो बैंक र बिमा संस्थाले गर्ने काम हो । स्वीकृति नलिई बैंकिङ र बिमासम्बन्धी काम गर्नु अपराध हो ।'
महासंघका वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले कार्यालयबाहिर रहेकाले जिल्ला प्रशासनको पत्र पढ्न नपाएको उल्लेख गरे । 'महासंघ जिल्ला प्रशासनमा दर्ता भएको सामाजिक संस्था हो,' उनले भने ।
प्रकाशित मिति: २०७१ पुस २७ ०९:००                              
http://www.ekantipur.com/np/2071/9/27/full-story/401864.html