पूर्ण बस्नेत, हङकङ, असोज १० - 'स्वतन्त्र तिब्बत' को माग गर्दै नेपालको भूमिसमेत प्रयोग गरी ५० वर्षअघि चीनविरुद्ध गुरिल्ला युद्ध गर्ने खम्पा विद्रोहीलाई अमेरिकामा विशेष सम्मान गरिएकोमा चिनियाँ पक्षले कडा आपत्ति जनाएको छ।
दुई साताअघि अमेरिकी 'सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी' (सिआइए) ले खम्पा विद्रोहीलाई गुरिल्ला तालिम दिएको ठाउँ कोलोराडोस्थित हले क्याम्पमा विशेष समारोह गरी 'तिब्बती-अमेरिकी सहकार्य' को सम्झनामा सम्मान एवं शिलालेख अनावरण गरेको थियो।
कोलोराडो राज्यका सिनेटर मार्क उदलको पहलमा अमेरिकी फरेस्ट सर्भिसले २५ भदौमा आयोजना गरेको उक्त कार्यक्रमलाई चिनियाँ पक्षले 'विगतको अपराधको सम्मान' भनेको छ। यसले तिब्बतमा हिंसा भड्काउने आशंका उसको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेली लगायत सरकारी सञ्चारमाध्यममा ढिलोगरी छापिएको 'शिलालेख : 'तिब्बत स्वतन्त्रता' र हिंसाको संकेत' शीर्षक टिप्पणीमा भनिएको छ, 'यसबाट दलाई लामाको सिआइएसँगको गोप्य साँठगाँठ र अपराधको भण्डाफोर भएको छ, साथै केही विदेशीसँग मिलेर स्वतन्त्र तिब्बतका लागि कुनै पनि बेला हिंसात्मक गतिविधि सञ्चालन गर्ने उद्देश्य रहेको पनि प्रस्ट भएको छ।'
'खम्पा विद्रोहीलाई सार्वजनिक रूपमा सम्मान गरेर दलाई लामा समूह र केही अमेरिकीहरूले योजनावद्ध तरिकाले सामान्य तिब्बती युवालाई आतंककारी हिंसातर्फ आह्वान गरेका छन्,' चाइना तिब्बत इन्फर्मेसन सेन्टरको नामबाट ४ असोजमा सार्वजनिक उक्त टिप्पणीमा छ, 'यस तथ्यबाट जनताले तिनीहरू अझै पनि चीनको भूभाग टुत्र््कयाउने सोचाइ राख्छन् भन्ने बुझ्नेछन्।'
दोस्रो विश्व युद्धकालमा अमेरिकी सेनाको दसौं माउन्टेन डिभिजन मुख्यालय रहेको मध्य कोलोराडोस्थित अनकन्टार जंगली क्षेत्रको क्याम्प हलेमा विशेष रूपमा छानेर लगिएका करिब ३ सय तिब्बतीलाई सिआइएले गुरिल्ला तालिम दिएको थियो।
विशेष तालिमप्राप्त तिब्बतीलाई आठवटा समूहमा अमेरिकी वायुसेनाको जहाजद्वारा ल्हासानजिकका ११ ठाउँमा युद्ध सामग्री र हतियारसहित उतारिएको थियो। क्याम्प हलेबाट जारी एउटा छुट्टै नोटअनुसार सन् १९५९ मा पहिलो तिब्बती समूहले हलेमा तालिम लिन सुरु गरेको थियो भने १९६० मा तालिमप्राप्त तिब्बतीलाई पहिलोपटक तिब्बतमा उतारिएको थियो। अमेरिकी वायुसेनाले तालिमप्राप्त लडाकु, गुप्तचर एजेन्ट र युद्ध सामग्री तिब्बतमा उतार्ने क्रम सन् १९६५ सम्म जारी राखेको थियो। सिआइएबाट तालिम लिएर आएका खम्पाहरूले करिब ४ हजार तिब्बतीलाई आफ्नो समूहमा भर्ना गरी तालिम दिएका थिए र त्यसैको बलमा उनीहरूले गुरिल्ला युद्ध सञ्चालन गरेका थिए।
सिआइएले गुरिल्ला तालिम दिएको कोलोराडोको त्यही ठाउँमा अहिले शिलालेख अनावरण गरी खम्पा विद्रोहीलाई 'तिब्बती स्वतन्त्रता सेनानी' को रूपमा सम्मान गरिएको हो। सिनेटर उदलको अध्यक्षतामा भएको समारोहमा सिआइएको तालिमपछि चीनविरोधी गुरिल्ला युद्धमा सहभागी जीवित तिब्बती, तिनलाई तालिम दिने सिआइएका प्रशिक्षक र तत्कालीन एजेन्ट, अमेरिकामा बसेर 'स्वतन्त्र तिब्बत' को वकालत गर्दै आएका दलाई लामाका समर्थक तथा अमेरिकी फरेस्ट सर्भिसका प्रतिनिधिलगायत थिए।
अन्तर्राष्ट्रिय रूपमा त्यति चर्चा नपाएको शीतयुद्धकालीन 'अमेरिकी-तिब्बती सहकार्य' को सम्झनामा तालिमकेन्द्र क्याम्प हलेेमा समारोह आयोजना गर्न जीवित खम्पा विद्रोही, सिआइएका तत्कालीन एजेन्ट तथा मार्कसहितका केही सिनेटरले लामो समयदेखि पहल गरेका थिए। समारोहमा मार्कको भाषण उद्धृत गर्दै पिपुल्स डेलीले लेखेको छ, 'शिलालेख तिब्बती र अमेरिकी जनताको सहकार्यको प्रतीक हो, यसले हामीलाई तिब्बती स्वतन्त्रता सेनानी र तिनका अमेरिकी युद्ध प्रशिक्षकबारे सधैं सम्झना गराइरहनेछ।'
५० वर्षअघिको हले घटनालाई समारोहलेे पहिलोपटक मान्यता दिएको छ। 'तिब्बती स्वतन्त्रता सेनानीका लागि सन् १९५८ देखि १९६४ सम्म तालिमकेन्द्रको रूपमा क्याम्प हलेेले महŒवपूर्ण भूमिका खेल्यो। सिआइएबाट तालिमप्राप्त धेरै महान् तिब्बतीले स्वतन्त्रता अन्दोलनमा आफ्नो जीवन गुमाए,' शिलालेखमा छ।
सिआइएका तत्कालीन प्रशिक्षक तथा समारोह आयोजनाको नेतृत्व गर्ने केन कनसको भनाइले 'स्वतन्त्र तिब्बत' अभियानलाई बल पुर्याउने उद्देश्यले यो कार्यक्रम गरिएको संकेत गर्छ। उनले भनेका छन्, 'यो स्मृति समारोह होइन, ५० वर्षअघि सुरु गरिएको लडाइँको निरन्तरता हो।'
सन् १९५० को अन्त्यमा तिब्बत पूर्ण रूपमा चीनको मातहत आएपछि अमेरिकाले शीतयुद्धको एउटा रणनीतिअन्तर्गत तिब्बत मामिलामा हात हाल्यो। सन् १९५१ देखि नै पूर्वी तिब्बतमा कम्युनिस्ट चीनको विरुद्ध विद्रोह सुरु भयो। १९५४ को सुरुमा सिआइएले तिब्बतबाट छानेर लगिएका खम्पाहरूलाई तालिम दिन थाल्यो। सुरुमा अमेरिकाकै रेयुकेयु र सिपान समुद्री टापुमा चलाइएको तालिमपछि कोलोराडोको अनकन्टार पहाडमा रहेको क्याम्प हलेमा सारेर अति गोप्य रूपमा सञ्चालन गरियो। पूर्वी तिब्बतको भूभागसँग मिल्ने भएकाले खम्पा विद्रोहीका लागि तालिम दिन यो ठाउँ रोजिएको थियो।
चाइना तिब्बत इन्फर्मेसन सेन्टरको टिप्पणीअनुसार सिआइएले सहयोग कम गर्दै लगेपछि खम्पा विद्रोहीहरूले नेपालको मुस्ताङलाई आधार बनाएका थिए। १९७१ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले गोप्य रूपमा चीन भ्रमण गरेपछि चीन-अमेरिका सम्बन्ध समान्य हुँदै गयो। सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणपछि अमेरिकी रणनीति परिवर्तन भयो र सिआइएले खम्पा विद्रोहीलाई सहयोग गर्न बन्द गर्यो। त्यसपछि सन् १९७४ मा नेपाली सेनाले मुस्ताङमा कारबाही गरेर खम्पा विद्रोह समाप्त गर्यो। सिआइएले तालिम दिएर दोस्रो खेपमा तिब्बत उतारिएका खम्पा विद्रोहीका एकजना कमान्डर वाङ्डु ग्यात्सो नेपाली सेनाको कारबाहीमा मुस्ताङमा मारिएका थिए।
क्याम्प हलेको कार्यक्रमले वासिङ्टनको अहिलेको चीन नीतिलाई प्रतिबिम्बित त गर्दैन, तर बेइजिङमाथि रणनीतिक दबाब जारी राख्न ५० वर्षपछि पनि 'स्वतन्त्र तिब्बत' कार्डले काम गरिरहेको एउटा प्रमाण हो, चिनियाँ पक्षबाट आएको प्रतिक्रिया। नेपालमा अमेरिकाको रणनीतिक सक्रियता र चीनको निगरानी अझै बढ्ने संकेत हो यो।
http://www.nagariknews.com/politics/party-politics/18693-2010-09-26-02-09-06.html