Thursday, October 18, 2012
जुम्लीलाई सधैं महँगो जहाज
लोकमणि राई
काठमाडौ, कार्तिक ३ - नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रका विमान कम्पनीलाई जुम्ला र डोल्पामा चार्टर उडानमात्र गर्न दिएर प्रक्रियागत भ्रष्टाचार गर्दै आएको छ । यसबाट दुर्गम क्षेत्रका सर्वसाधारण चरम आर्थिक मारमा मात्र परेका छैनन्, उनीहरूको मौलिक अधिकार र मानव अधिकारसमेत कुण्ठित भइरहेको छ । चार्टर उडान गर्नेमा सीता यअर र तारा यअर अगाडि छन् । पर्यटन मन्त्रालयले २०६७ माघ २४ मा प्राधिकरणलाई ४० प्रतिशत उडान दुर्गम क्षेत्रमा गराउन निर्देशन दिए पनि यी जिल्लामा ९८ प्रतिशतसम्म चार्टर उडान हुने गरेका छन् । चार्टर उडानको भाडा नियमितको दोब्बरभन्दा बढी छ । कान्तिपुरलाई प्राप्त प्राधिकरणको गोप्य कागजातका आधारमा यी दुई कम्पनीले गत साउनमा जुम्लामा १ सय ३६ चार्टर उडान गरेको देखिन्छ । त्यसबाट ती कम्पनीले कार्गोबाहेक कम्तीमा ४३ लाख २६ लाख २५ हजार रुपैयाँ असुलेका छन् । सीताले कम्तीमा करिब ९ लाख ३८ हजार रुपैयाँ र ताराले कम्तीमा ३ लाख ७४ हजार रुपैयाँको कार्गो बोकेका छन् । त्यस्तै भदौ १ देखि १५ सम्मको ८० चार्टर उडानबाट बर्सेनि खाद्य संकटमा पर्ने कणर्ालीका जुम्लेलीसँग मात्र ३७ लाख ४१ हजार रुपैयाँ असुलेका थिए ।
केही कार्गो उडानबापत यो अवधिमा यी दुई कम्पनीले कम्तीमा १३ लाख ९१ हजार रुपैयाँ 'थप आम्दानी' गरेका छन् ।
सीताको डोर्नियर विमानले यो अवधिभित्र जुम्लामा ५० पटक ओहोरदोहोर गरेको थियो । त्यस क्रममा ७ सय ५१ यात्रु (प्रतिउडान १५ जना) उडेका थिए । नियमित उडानमा ८० प्रतिशत 'अकुपेन्सी' हुने आधारमा प्रतियात्रु नेपालगन्ज-जुम्ला अधिकतम ३ हजार ६ सय ७५ रुपैयाँ भाडा छ । त्यस हिसाबले प्रतिउडान १९ सिटको विमानलाई १५ यात्रु बोकेर ५५ हजार १ सय २५ रुपैयाँ आम्दानी गर्दा नाफा हुन्छ ।
विमान कम्पनीले चार्टर उडानमा नेपालगन्ज-जुम्लाको भाडा प्रतियात्रु ६ हजार ७ सय ५५ देखि ८ हजार रुपैयाँसम्म लिने गरेका छन् । यस हिसाबले सीताले प्रत्येक यात्रुबाट कम्तीमा ३ हजार ८० रुपैयाँका दरले २३ लाख १० हजार रुपैयाँभन्दा बढी थप रकम असुल्यो । नियमित उडान भएको भए जुम्लीको यो रकम जोगिन्थ्यो । उक्त विमानले त्यस अवधिमा १० हजार ५ सय २४ किलो कार्गोबापत कम्तीमा १० लाख ५२ हजार रुपैयाँ 'थप आम्दानी' गरेको थियो । त्यही समयमा तारा यअरको ट्वीनअटरले गरेको ३० चार्टर उडानमा जुम्ला भित्रिने र बाहिरिने यात्रु ४ सय ३४ थिए । माथिकै सूत्रअनुसार ताराले पनि जुम्लीबाट करिब १४ लाख ३१ हजार रुपैयाँ अतिरिक्त रकम असुल्यो । त्यो अवधिमा उक्त विमानले कम्तीमा ३ लाख ३९ हजार रुपैयाँ बराबरको कार्गो पनि बोकेको थियो । सीता एयरले भने नेपालगन्जबाट जुम्लामा साताको एउटा र सुर्खेतबाट जुम्लामा दुई साताको एउटा नियमित उडान गरेको जनाएको छ । 'हामीलाई प्राधिकरणबाट स्वीकृति प्राप्त उडान नै त्यति हो,' सीता एयरका नेपालगन्ज इन्चार्ज पर्शुराम चौधरीले भने, 'बाँकी सबै चार्टर हुन् ।' तर प्राधिकरणको तथ्यांकमा उनले दाबी गरेअनुसार सातामा एउटा नियमित उडान भएको देखिन्न । त्यस्तै तारा एयरकी व्यवस्थापक मञ्जनी श्रेष्ठले पनि प्राधिकरणले नेपालगन्जबाट जुम्ला र डोल्पामा हरेक साता १/१ उडान नियमित तोकिदिएको बताइन् । 'सुर्खेतबाट पनि हरेक साता एउटा उडान जुम्ला र एउटा डोल्पामा गछौर्ं,' उनले भनिन्, 'सरकारले तोकिदिएको नियमित उडानबाहेक चार्टर उडान हुन्छ ।' तर उनले दाबी गरेअनुसार तारा एयरले नियमित उडान गरेको देखिन्न ।
लामो समय जुम्लामा काम गरेका अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले निजी क्षेत्रका विमान कम्पनी र प्राधिकरणको मिलेमतोमा प्रक्रियागत भ्रष्टाचार भइरहेको बताए । 'के जुम्ली सर्वसाधारण विमान चार्टर गर्न सक्ने आर्थिक हैसियत राख्छन् ?' उनी प्रश्न गर्छन्, 'राख्दैनन् भने महिनामा ३ सयभन्दा बढी फ्लाइट हुँदा पनि किन जुम्लीले टिकट पाउँदैनन् र किन सबै फ्लाइट चार्टरमात्र हुन्छन् ?'
तिमिल्सिनाले हवाई भाडाका कारण दुर्गम क्षेत्रका बासिन्दाको मानव अधिकार कुण्ठित भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । यस विषयमा राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले नियमित उडान कम भएको स्वीकार गरे । तर उनले चार्टर उडानमात्रै हुने नगरेको जिकिर गरे । 'हामी नियमित उडान गरेपछि मात्र चार्टर गर्न दिन्छौं,' उनले दाबी गरे, 'मलाई भर्खर आएको जानकारी अनुसार नियमित उडान पनि भइरहेको छ ।'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोस्टबहादुर बोगटीले जुम्ला र डोल्पामा लगभग सबै उडान चार्टरमा भइरहेको थाहा नभएको बताए । 'अब थाहा भयो,' उनले भने, 'सुधार गर्नुपर्छ ।' उनले जुम्ला र डोल्पाजस्ता दुर्गम क्षेत्रमा नियमित उडान गर्ने र कणर्ालीमा उडान थप्ने केही अघि भएको निर्णयअनुसार काम भइरहेको दाबी गरे ।
२०६९ साउन
जहाज नियमित चार्टर
सीता ० ९८
तारा १० ३८
२०६९ वैशाख-असार
सीता ६ २४२
तारा २० ६६
२०६७ कात्तिक १५ देखि
२०६८ भदौ १४
सीता १५ २६३
तारा १५ ६८
-नागरिक उड्डयन कार्यालयको तथ्यांकमा आधारित)
प्रकाशित मिति: २०६९ कार्तिक ३ ०८:४५
Subscribe to:
Posts (Atom)