Wednesday, March 26, 2014

प्रति मेगावाट करोड अनुदान

लोकमणि राई
काठमाडौ, चैत्र १२ - ऊर्जा मन्त्रालयले जलविद्युत्मा निजी क्षेत्रलाई आकषिर्त गर्न आयोजनाको 'सिभिल कन्स्ट्रक्सन' सामग्रीमा प्रतिमेगावाट १ करोड रुपैयाँ अनुदान दिन अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ । ऊर्जामन्त्रीस्तरीय निर्णयबाट अर्थ मन्त्रालयलाई जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई राहत दिन प्रस्ताव गरिएको हो ।
'अनुदान रकम प्रतिमेगावाट १० लाख रुपैयाँ थियो,' ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले भनिन्, 'त्यसलाई बढाएर १ करोड रुपैयाँ पुर्‍याएका छौं ।' अर्थ मन्त्रालयले भने उक्त प्रस्ताव स्वीकृत गरिसकेको छैन । अर्थबाट स्वीकृत भएपछि अनुदान रकम बजेटमा व्यवस्था गरिन्छ । त्यसपछि प्रवर्द्धकले आयोजना निर्माण गर्दा अनुदान रकम पाउनेछन् ।
सिमेन्ट, रडलगायत आयोजना निर्माणका लागि आवश्यक सामग्री सिभिल कन्स्ट्रक्सन सामग्री हुन् । तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले २०६८ सालमा यी सामग्रीमा प्रतिमेगावाट १० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेका थिए । उनले आर्थिक क्षेत्र सुधारका लागि ३८ बुँदे कार्यक्रम ल्याएका थिए, जसमा सिभिल कन्स्ट्रक्सन सामग्रीमा प्रतिमेगावाट १० लाख रुपैयाँ अनुदानको व्यवस्था गरिएको थियो । तर उक्त रकम ज्यादै न्यून भएको भन्दै निजी क्षेत्रका जलविद्युत् परियोजना प्रवर्द्धकले उक्त रकम लिन अनिच्छा देखाउँदै आएका थिए । उनीहरूले प्रतिमेगावाट १ करोड रुपैयाँ अनुदान दिनुपर्ने माग गर्दै आएका थिए ।
'ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको सिभिल कन्स्ट्रक्सन सामग्रीमा प्रतिमेगावाट १ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ,' स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) अध्यक्ष खड्गबहादुर विष्टले भने, 'रकम पाएपछि उत्पादकहरूलाई केही राहत मिल्नेछ ।' प्रतिमेगावाट विद्युत् उत्पादन लागत करिब १६ करोड रुपैयाँ छ ।
जलविद्युत् आयोजना निर्माण गर्दा करिब ६० प्रतिशत सिभिल कन्स्ट्रक्सन सामग्री खपत हुन्छ । यस हिसाबले ऊर्जा उत्पादक तथा प्रवर्द्धकलाई अनुदानबाट करिब १० प्रतिशत रकम राहत पुग्छ ।
सरकारले टर्बाइन, जेनेरेटर, भल्भ, ट्रान्स्र्फमर, गियर, डाइनामो, कन्ट्रोल सिस्टमलगायत इलेक्ट्रोमेकानिकल उपकरणमा भने मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिँदै आएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार इलेक्ट्रोमेकानिकल सामग्रीमा समेत भ्याट छुट दिने गृहकार्य भइरहेको छ । 'विभिन्न प्रवर्द्धकबाट अन्य सामग्रीमा पनि भ्याट छुट दिनुपर्‍यो भन्ने माग आएको छ,' उनले भने, 'त्यस विषयमा गृहकार्य भइरहेको छ ।'
उनका अनुसार ऊर्जा उत्पादक तथा प्रवर्द्धकहरूले नाफाको कारण देखाउँदै अन्य सामग्रीमा पनि भ्याट छुट मागेका हुन् । मन्त्रालयले ऊर्जा उत्पादक तथा प्रवर्द्धकलाई आयोजना निर्माण भइसकेपछि भ्याट फिर्ता गर्न सकिने विषयमा गृहकार्य गरिरहेको छ । 'सुरुमै भ्याट फिर्ता हुन्न,' उनले भने, 'आयोजना बनिसकेपछि भ्याट फिर्ता गर्ने विषयमा गृहकार्य भइरहेको हो । तर निर्णय भइसकेको छैन ।'
करिब एक वर्षअघि ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्वमा निजी क्षेत्रका उत्पादकलाई भ्याट छुट दिने विषयमा अध्ययन गर्न समिति गठन भएको थियो ।
 

प्रकाशित मिति: २०७० चैत्र १२ ०९:४७
- See more at: http://www.ekantipur.com/np/2070/12/12/full-story/386313.html#sthash.YMCYQ0PT.dpuf

http://www.ekantipur.com/np/2070/12/12/full-story/386313.html

४४ म्यानपावरलाई ४५ लाख जरिवाना

काठमाडौ, चैत्र १२ - वैदेशिक रोजगार विभागले कानुन, निर्देशन र सर्तविपरीत काम गर्ने ४४ म्यानपावर कम्पनीलाई ४५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । तोकिएको समयभित्र जरिवाना नतिर्ने म्यानपावर कम्पनीको कारोबार रोक्का गर्ने विभागले जनाएको छ ।
अनुमति नलिई शाखा कार्यालय सञ्चालन गर्ने, एजेन्ट नियुक्ति गर्ने र कानुनविपरीत आर्थिक कारोबार गर्ने म्यानपावर कम्पनी कारबाहीमा परेका हुन् । त्यसमा अनुमति नलिई पोखरामा शाखा कार्यालय सञ्चालन गर्ने, एजेन्ट नियुक्ति गर्ने र कानुन विपरीत आर्थिक कारोबार गर्ने २० म्यानपावर कम्पनी छन् । त्यस्तै मोरङ, सुनसरी र झापामा अनुमति नलिई शाखा कार्यालय सञ्चालन गर्ने, एजेन्ट नियुक्ति गर्ने
र कानुनविपरीत आर्थिक कारोबार गर्ने २४ म्यानपावर कम्पनी छन् । '४३ म्यानपावर कम्पनीलाई १ लाख रुपैयाँका दरले ४३ लाख रुपैयाँ र एउटा म्यानपावर कम्पनीलाई २ लाख रुपैयाँ गरी कुल ४५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भयो,' विभागका प्रवक्ता बद्री कार्कीले भने, 'यो जरिवाना अधिकतम हो ।'
प्रवक्ता कार्कीले विभागले सोमबार उक्त निर्णय गरेको बताए । 'निर्णयअनुसार जरिवाना तिर्न २/३ दिनको म्याद राखेर पत्राचार गरिरहेका छौं,' उनले भने, 'म्यादभित्र जरिवाना नतिरे अवैध शाखा खोल्ने, एजेन्ट नियुक्त गर्ने तथा आर्थिक कारोबार गर्ने म्यानपावर कम्पनीको कारोबार पूर्ण रूपमा रोक्का गर्छौं ।'
जरिवानाको कारबाहीमा पोखराका म्यानपावर कम्पनीमा भिरकोटकाली ओभरसिज, पाल्ही ओभरसिज, मार्बलस इम्प्लोइमेन्ट नेपाल, ह्युमन इम्प्लोइमेन्ट सर्भिस, कोसी इन्टरनेसनल, एसआरके ओभरसिज, प्याराडाइज ओभरसिज, मञ्जुश्री ओभरसिज, शिखर इन्टरनेसनल, दियालो इन्टरनेसनल इम्प्लोइमेन्ट, टाइम मेनेजमेन्ट सिस्टम, सपोर्ट ह्युमन रिसोर्स, फ्लोरिड ह्युमन रिसोर्स, जनशक्ति इन्टरनेसनल सर्भिसेज, राज ओभरसिज, धर्म ओभरसिज, साउन्डलाइन ओभरसिज, अञ्जली ओभरसिज, गोर्खा प्लेसमेन्ट र इमास्को नेपाल परेका छन् ।
सुनसरी, मोरङ र झापाका एसओएस म्यानपावर सर्भिसेज, मार्बलस इम्प्लइमेन्ट, प्याराडाइज इन्टरनेसनल, टाइगर ओभरसिज, मोभिरा ह्युमन रिसोर्स सर्भिस, कोड इन्टरनेसनल, अल भिजन इन्टरनेसनल, भण्डारी ओभरसिज, रिभाइभ नेपाल, कावेल एचआर, कोमल इन्टरनेसनल, बीएम ओभरसिज, जीसीडी वल्र्डवाइड र सोसियल इम्प्लइमेन्ट सर्भिसेज आर्थिक जरिवानामा परेका छन् ।
जरिवानामा पर्ने सुनसरी, मोरङ र झापाका अन्य म्यानपावर कम्पनीमा इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट, द रिभर ओभरसिज, सब इन्टरनेसनल ह्युमन रिसोर्स, नेपाल इन्टरनेसनल इम्प्लइमेन्ट सर्भिसेज, मुनाल ओभरसिज, मञ्जुश्री ओभरसिज सर्भिस, मोभिरा ओभरसिज, रारा इम्प्लाइमेन्ट कन्सल्ट, विराट ओभरसिज इन्टरनेसनल र ग्लोबल एलायन्स कन्सल्टेन्सी छन् । ग्लोबल एलायन्स कन्सल्टेन्सीलाई भने अपराधको प्रकृतिअनुसार २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
विभागका महानिर्देशक कृष्णहरि पुष्करको नेतृत्वमा केही साताअघि गएको अनुगमन टोलीले ८१ म्यानपावर कम्पनीले अवैध गतिविधि गरिरहेको फेला पारेको थियो । त्यसमध्ये ३७ म्यानपावर कम्पनीलाई विभागले सुधारको निर्देशन र कानुनविपरीत काम नगर्न चेतावनी दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: २०७० चैत्र १२ ०९:४८
- See more at: http://www.ekantipur.com/np/2070/12/12/full-story/386314.html#sthash.SHVmcGeY.dpuf

http://www.ekantipur.com/np/2070/12/12/full-story/386314.html