Tuesday, May 17, 2016

सोलु करिडोर प्रसारण लाइन: परामर्शदाताको चंगुलमा

लोकमणि राई


solu river
ठेकेदारको स्वार्थमै आफ्नो हित ठान्ने सरकारी प्रवृत्तिको पछिल्लो शिकार बनेको छ– प्राथमिकताप्राप्त सोलु करिडोर आयोजना।
दुईवर्षे समयसीमा पाएको सोलु करिडोर साउन २०७४ देखि सञ्चालनमा आउनुपर्ने हो। तर, यो आयोजनाको ठेक्का सम्बन्धी मुद्दा व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमै अड्किंदा काम सकिनु त परैको कुरा, शुरू पनि भएको छैन।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, तत्काल काम शुरू गर्ने हो भने पनि प्रसारण लाइन बन्न कम्तीमा दुई वर्ष लाग्छ। तर, त्यतिञ्जेलसम्म १८ मेगावाटको सोलु (माघ, २०७४) र ५.२ मेगावाटको जुनबेंसी (साउन, २०७४) जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको हुनेछ।
सोलु करिडोर नबनेसम्म यी आयोजनाको विद्युत् प्रयोग गर्न सकिन्न। यस्तो स्थितिमा, यी दुई आयोजनालाई विद्युत् प्राधिकरणले वार्षिक करीब रु.१५ करोड क्षतिपूर्ति भने तिर्नुपर्नेछ। ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलुखोला साउन, २०७५ भित्र बन्नेछ। ८६ मेगावाटको सोलुखोला–दूधकोशी पनि चैत, २०७६ मा सकिनेछ। सोलु करिडोर नबने यी सबै पाँच आयोजनालाई प्राधिकरणले वार्षिक रु.१ अर्ब ३८ करोड क्षतिपूर्ति दिनुपर्छ।
प्राधिकरणको प्रपञ्च
हामीलाई कुनै निश्चित कम्पनीलाई ठेक्का दिलाउने उद्देश्यले परामर्शदाताले विश्व ब्यांक, एशियाली विकास ब्यांक र विद्युत् प्राधिकरणको अभ्यास विपरीत मापदण्ड तयार गरेको छ भन्ने शंका थियो। सन्तोषनारायण श्रेष्ठ पूर्व सदस्य, नेविप्रा सञ्चालक समिति
हामीलाई कुनै निश्चित कम्पनीलाई ठेक्का दिलाउने उद्देश्यले परामर्शदाताले विश्व ब्यांक, एशियाली विकास ब्यांक र विद्युत् प्राधिकरणको अभ्यास विपरीत मापदण्ड तयार गरेको छ भन्ने शंका थियो।
सन्तोषनारायण श्रेष्ठ
पूर्व सदस्य, नेविप्रा सञ्चालक समिति
सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिलाङसम्म बन्ने १३२ केभी क्षमताको ९० किलोमिटर लामो प्रसारण लाइन हो, सोलु करिडोर। भारतीय एक्जिम ब्यांकको ऋण सहयोगमा बन्ने यो आयोजनाको अनुमानित लागत २९ मिलियन डलर (करीब रु.३ अर्ब ७ करोड ४० लाख) छ।
प्राधिकरणले २५ माघ २०७१ मा सोलु करिडोरका लागि बोलपत्र आह्वान गर्‍यो। ३० चैत २०७१ सम्ममा ८ कम्पनीले बोलपत्र पेश गरे। सबैभन्दा कम लागत गर्नेमा थियो, भारतको जगुवार ओभरसिज लिमिटेड एण्ड बीएस लिमिटेड (जेभी)। जगुवारले २ करोड ३ लाख ५४ हजार १६७ डलर (करीब रु.२ अर्ब १५ करोड ७५ लाख ४१ हजार ७०२) मा सोलु करिडोर बनाउने प्रस्ताव गरेको थियो। उता मोहन इनर्जी कर्पोरेसन प्रालिले भने जगुवारभन्दा रु.२७ करोड ६७ लाख ७० हजार ९८२ बढी अर्थात् २ करोड २९ लाख ६५ हजार २१४ डलर (करीब रु.२ अर्ब ४३ करोड ४३ लाख १२ हजार ६४८) मा निर्माण सक्ने प्रस्ताव राख्यो।
प्राधिकरणले आफ्नो नियमावली अनुसार, सोलु करिडोर आयोजना प्रमुख जनार्दनप्रसाद गौतमको संयोजकत्वमा बोलपत्र मूल्यांकन समिति गठन गर्‍यो। तर, प्राधिकरणले सम्झौता विपरीत बोलपत्र मूल्यांकनको जिम्मा परामर्शदाता लामेयर इन्डियालाई नै दियो।
लामेयरले ८ जेठ २०७२ मा मूल्यांकन प्रतिवेदन बुझाउँदै सबैभन्दा कम लागत प्रस्ताव गर्ने जगुवार प्राविधिक मापदण्डमा अयोग्य भएको निष्कर्ष निकाल्यो। र, जगुवारभन्दा बढी लागत रकम प्रस्ताव गर्ने मोहन इनर्जीलाई ठेक्का दिन सिफारिश गर्‍यो। विवादको शुरूआत यहींबाट भयो।
गौतम समितिले लामेयरले प्रतिवेदन बुझाएको चार दिन नबित्दै ११ जेठमा उक्त प्रतिवेदन सदर गर्‍यो। नियमावलीअनुसार प्राधिकरणका उपकार्यकारी निर्देशक कन्हैयाकुमार मानन्धरको संयोजकत्वमा गठित बोलपत्र पुनःमूल्यांकन समितिले पनि मूल्यांकन समिति र लामेयरको प्रतिवेदनलाई चूपचाप सही ठहर्‍यायो।
लामेयरको प्रतिवेदनप्रति आशंका व्यक्त गर्दै प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले २९ असार २०७२ मा आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख सुरेन्द्र राजभण्डारीको संयोजकत्वमा अर्को समिति बनाए। राजभण्डारी समितिले लामेयरको मूल्यांकन प्रतिवेदनलाई गलत ठहर गर्दै जगुवारलाई अयोग्य सावित गर्ने तर्क आधारहीन रहेको निष्कर्ष निकाल्यो।
तर, राजभण्डारी प्रतिवेदनलाई गोप्य राख्दै कार्यकारी निर्देशक काफ्ले लामेयरकै प्रतिवेदनको पक्षमा उभिए। यति मात्र होइन, उनले लेखा समितिमा राजभण्डारी समिति वैधानिकता नभएको र उक्त समितिले आफूलाई प्रतिवेदन नै नबुझाएको समेत बताए।
यता, ऊर्जा मन्त्रालयका तत्कालीन सचिव भने लामेयर प्रतिवेदन गलत भएको निष्कर्षमा पुगे। तत्कालीन ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले लेखा समितिमा लामेयरकोे निष्कर्ष गलत भएको बुँदागत ‘ब्रिफिङ’ गरे। (हे. बक्स) उनले राजभण्डारी प्रतिवेदन लुकाएको भन्दै कार्यकारी निर्देशक काफ्लेको नियतमा समेत शंका व्यक्त गरे। अहिले यो मुद्दा लेखा समितिमा विचाराधीन छ।
अख्तियारको कुनियत
सोलु करिडोरको ठेक्कामा जगुवारलाई हटाएर रु.२७ करोडभन्दा बढी भ्रष्टाचार गर्न खोजेको आरोप विद्युत् प्राधिकरणमाथि लागेको छ। जगुवारको नेपालस्थित प्रतिनिधि दीपक भट्टसहितको टोलीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई समेत प्राधिकरणविरुद्ध ‘लबिङ’ गरेको बताइन्छ।
१ असोज २०७२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलु करिडोरमा ‘बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र जसरी पनि स्वीकृत गर्ने मनसाय राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बमोजिम कसुर गरेका’ ले तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलाई कारबाही गर्न तत्कालीन प्रधानमन्त्री कोइरालासमक्ष अनुरोध गर्ने भन्दै प्रेस विज्ञप्ति जारी गर्‍यो।
त्यही निहुँमा कोइरालाले ऊर्जामन्त्री ज्ञवालीलाई बर्खास्त गरे। उनलाई बर्खास्त गर्नु अघि ५ असोज २०७२ मा तत्कालीन प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले मोहन इनर्जीको विपक्षमा समाचार छापिदिन आग्रह गर्दै निकटका सञ्चारकर्मीलाई समाचार नै पठाएका थिए।
प्राधिकरण सञ्चालक समितिलाई प्राप्त अख्तियारको निर्णयमा भने काबेली करिडोर र कोशी करिडोरको ठेक्काको सन्दर्भ उल्लेख गर्दै ‘समान प्रकृतिका आयोजनाहरूका लागि बोलपत्र कागजातमा एकरूपता कायम गर्न लेखी पठाउने’ लेखिएको थियो। अख्तियारको उक्त निर्णय अनुसार काम भए जगुवार ओभरसिजको बोलपत्र काबेली र कोशी करिडोरको मापदण्ड अनुसार पुनः मूल्यांकन गर्नुपर्छ। त्यसबाट जगुवार प्राविधिक मापदण्डमा योग्य देखिन सक्छ। यस्तो अवस्था आए उसले कम रकम कबोलेका आधारमा सोलु करिडोरको ठेक्का पाउने निश्चित छ।
आश्चर्यको कुरा, बर्खास्तगीमा परेकी ज्ञवालीले सर्वोच्च अदालतबाट गत ३ चैतमा सफाइ पाएलगत्तै अख्तियारले त्यसअघि १ असोजमा फेसबूकमा राखेको विज्ञप्ति हटायो। विज्ञप्तिमा ऊर्जामन्त्री ज्ञवाली, प्राधिकरण सञ्चालक सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र, सुरज लामिछाने र कार्यकारी निर्देशक मुकेशराज काफ्लेसहित १० जनालाई कारबाही गर्न लेखी पठाउने निर्णय उल्लेख थियो। “अख्तियारको निर्णय र विज्ञप्ति हेर्दा सोलु करिडोरमा उसको खास स्वार्थ रहेको देखिन्छ”, प्राधिकरणका एक उच्च अधिकारी भन्छन्।
तत्कालीन ऊर्जा सचिव क्षेत्री र सञ्चालक समिति सदस्य सन्तोषनारायण श्रेष्ठले मोहन इनर्जीलाई ठेक्का दिइने प्राधिकरण सञ्चालक समितिको निर्णयविरुद्ध लेखेको फरक मतलाई नै आधार बनाएर अख्तियारले सोलु करिडोरमा हात हालेको थियो। उनीहरूले १० भदौ २०७२, साँझ् ५ बजेपछि विद्युत् प्राधिकरणको कार्यालयमा फरक मत दर्ता गरेका थिए। त्यसको भोलिपल्टै बिहान साढे १० बजे अख्तियारले प्राधिकरणबाट सोलु करिडोरको फाइल कब्जामा लिएको थियो।
मनपरी मापदण्ड
परामर्शदाता लामेयर इन्डियाले बनाएको मापदण्ड संशोधन नगरिएको भए सोलु करिडोरको ठेक्कामा जगुवार र मोहन इनर्जीको नामसमेत सुनिने थिएन। लामेयरले बनाएको ठेकेदार छान्ने मापदण्ड अनुसार संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) कम्पनीले ठेक्का प्रक्रियामा भाग लिन पाउँदैनथे। त्यस हिसाबले जगुवार र ऊसँग ज्वाइन्ट भेन्चरमा रहेको बीएस लिमिटेडको प्रवेश सम्भव नै थिएन।
ठेकेदारको योग्यतासम्बन्धी मापदण्डमा ‘ठेकेदारको योग्यता उसको उत्पादन क्षमताका आधारमा तय हुनेछ’ भनिएको छ। यो मापदण्ड अनुसार प्रसारण लाइनसम्बन्धी सामग्री (टावर र सबस्टेसन) उत्पादन गर्ने क्षमता नै नभएको मोहन इनर्जी प्रक्रियाबाट स्वतः बाहिरिने थियो। यी दुई प्रावधान संशोधन नभएको भए एन्जेलिक इन्टरनेशनल लिमिटेड–युजीएल जेभी र ज्योति स्ट्रक्चर्स लिमिटेड पनि बाहिरिन्थे।
प्राधिकरणका एक उच्च अधिकारी मोहन इनर्जी र जगुवारकै चलखेलमा सञ्चालक समितिले लामेयरको मापदण्ड परिवर्तन गरेको बताउँछन्। तर, प्राधिकरण सञ्चालक समिति सदस्य श्रेष्ठ लामेयरको मापदण्ड परिवर्तन अत्यावश्यक भएको दाबी गर्छन्। “मापदण्ड परिवर्तन नगरेको भए दुई वटाभन्दा बढी कम्पनी आउने अवस्था थिएन”, उनी भन्छन्, “त्यसबाट मूल्य र गुणस्तरमा प्रतिस्पर्धा नहुने अवस्था थियो।”
ठेकेदारको योग्यताको आधार उत्पादन क्षमता नभएको र कुनै कम्पनीको विशेषज्ञता टावर र फाउण्डेशन तथा कुनैको सबस्टेसनमा हुने भएकाले संयुक्त उपक्रम नहुने मापदण्ड संशोधन गरिएको उनको भनाइ छ। “संयुक्त उपक्रम कम्पनीले ठेक्कामा भाग लिन नपाउने भन्ने दुनियाँमा कतै छैन”, श्रेष्ठ भन्छन्। सोलु करिडोरको ठेक्कामा लामेयरले स्वार्थवश यस्तो मापदण्ड राखेकाले त्यसलाई पुनरावलोकन गर्न र तत्कालीन ऊर्जा सचिव क्षेत्रीको पहलमा आफ्नो संयोजकत्वमा समिति बनाइएको उनको दाबी छ।
संशोधन गरिएको अर्को मापदण्ड, ‘देशभित्र दुई वटा र देशबाहिर दुई वटा प्रसारण लाइन डिजाइन, परीक्षण, उत्पादन र टावर आपूर्ति गरेको हुनुपर्ने’ भन्नेथियो। यो मापदण्ड पूरा गर्न नसक्दा ग्यामन इन्डिया लिमिटेड बाहिरिन्थ्यो। त्यस्तै, प्रसारण लाइनको टावर निर्यातमा पाँच वर्षभन्दा लामो अनुभव हुनुपर्ने भन्ने ठेकेदार छान्ने अर्को मापदण्ड पनि खारेज नगरेको भए टाटा प्रोजेक्ट्स पनि अयोग्य हुन्थ्यो। बाँकी रहन्थ्यो केईसी र कल्पतरु।
केईसीले २ करोड ७५ लाख २२ हजार १५१ डलर (करीब रु.२ अर्ब ९१ करोड ७३ लाख ४८ हजार र कल्पतरुले २ करोड ५६ लाख ५८ हजार १५८ डलर (करीब रु.२ अर्ब ७१ करोड ९७ लाख ६४ हजार ७४८ प्रस्ताव गरेको थियो। यस हिसाबले सोलु करिडोरको ठेक्का कल्पतरुले पाउने निश्चित थियो।
“हामीलाई कुनै निश्चित कम्पनीलाई ठेक्का दिलाउने उद्देश्यले परामर्शदाताले विश्व ब्यांक, एशियाली विकास ब्यांक र विद्युत् प्राधिकरणको अभ्यास विपरीत मापदण्ड तयार गरेको छ भन्ने शंका थियो”, श्रेष्ठ भन्छन्। कल्पतरुका नेपाली एजेन्ट आईसीटीसी नामक कम्पनी हो। मापदण्ड संशोधनपछि करिडोरको ठेकेदार छनोट प्रक्रिया खुला भएको र त्यसबाट प्राधिकरणले करीब रु.८५ करोड जोगाउन सफल भएको भन्ने समाचार प्रधानमन्त्री कार्यालयकै हवाला दिंदै छापिए।
परामर्शदाता लामेयरको प्रतिवेदन अनुसार जगुवारले नेपाली वा स्वतन्त्र परिवर्त्य मुद्रामा राखिनुपर्ने बीड सेक्युरिटी भारतीय रुपैयाँमा राखेको छ। प्रतिवेदन अनुसार, बीएस लिमिटेडका कार्यकारी निर्देशक एस राजागोपालनसँग ‘पावर अफ अटर्नी’ नभएकाले जगुवार ओभरसिज र बीएस लिमिटेडबीचको संयुक्त उपक्रम (ज्वाइन्ट भेञ्चर) सम्झौता अमान्य छ।
प्रतिवेदनमा ज्वाइन्ट भेञ्चरमा दोस्रो साझेदारको जिम्मेवारी उत्तिकै हुनुपर्ने मापदण्ड पूरा नगरिएको, ज्वाइन्ट भेन्चर सम्झौता नै अमान्य भएपछि ज्वाइन्ट भेञ्चरका तर्फबाट गरिएका हस्ताक्षर अमान्य हुने र ‘टर्न की प्रोजेक्ट’ को आवश्यकता अनुसार प्रसारण लाइनको टावर फउण्डेशनको काम नगरेकाले जगुवार अयोग्य भएको उल्लेख छ। यो प्रतिवेदनलाई सचिव क्षेत्री र राजभण्डारी समितिको प्रतिवेदनले चुनौती दिएका छन्।
प्रमाण नै नक्कली!
लेखा समितिमा मिनेन्द्र रिजाल, प्रकाशशरण महत, रामहरि खतिवडा लगायतका खासगरी कांग्रेसका सभासद्हरूले सोलु करिडोर ठेक्का प्रकरणमा अनियमितता भएको मुद्दा उठाए। उनीहरूले मोहन इनर्जीले ठेक्का पाउन नक्कली प्रमाणपत्र पेश गरेको दाबी गरे।
ठेकेदारको प्राविधिक योग्यता सम्बन्धी मापदण्डमा ६० किलोमिटर प्रसारण लाइन भिरालो पहाडी भूभागमा बनाएको हुनुपर्ने उल्लेख छ। समितिका सदस्य सभासद् खतिवडाले हिमाल लाई उपलब्ध गराएको प्रमाणपत्र हेर्दा मोहन इनर्जीले मापदण्ड पूरा गर्न नक्कली प्रमाणपत्र पेश गरेको देखिन्छ।
पोर्चुगिज भाषामा ‘इलेक्ट्रिसिटी अफ मोजाम्बिक इआर, डाइरेक्टरेट अफ इलेक्ट्रिसिटी एण्ड प्रोजेक्ट्स’ ले जारी गरेको प्रमाणपत्रमा मोहन इनर्जीले भिरालो पहाडी भूभाग (हिल्ली टरेन) मा प्रसारण लाइन बनाएको उल्लेख छैन। तर, भारतको समा रानी नोटरी पब्लिक संस्थाले प्रमाणित गरेको उक्त प्रमाणपत्रको अंग्रेजी अनुवादमा भने ‘इन हिल्ली टरेन’ उल्लेख छ। अनूदित प्रमाणपत्रको लेटरहेडमा ‘इलेक्ट्रिसिटी अफ मोजाम्बिक इआर’ पनि उल्लेख छैन।
नोटरीको दर्ता नम्बर पनि दुई वटा छ। भारतको कानून तथा न्याय मन्त्रालयले जारी गरेको समा रानीको नोटरी दर्ता नम्बर २६८२ छ। मोहन इनर्जीले पेश गरेको प्रमाणपत्रमा भने २८८२ छ। “मोहन इनर्जीको प्रमाणपत्र नक्कली भएको तथ्य फेला पर्‍यो”, सांसद् खतिवडा भन्छन्। लेखा समितिले पक्ष र विपक्षमा बहस नगर्ने तर बदमासी छानबीन गर्ने उनको भनाइ छ। “ठेक्कापट्टामा मिलेमतो अन्त्य गर्न त्यसबाट पुग्ने नोक्सानी सम्बन्धित अधिकारीबाटै असुल गर्ने कानून बनाउनुपर्ने देखिन्छ”, खतिवडाको सुझाव छ।
kshetriपहिल्यै चलखेल
राजेन्द्रकिशोर क्षेत्री,
पूर्व ऊर्जा सचिव

परामर्शदाता लामेयर इन्डिया र विद्युत् प्राधिकरण–बीचको सम्झौतामा बोलपत्र मूल्यांकनको कुनै व्यवस्था छैन। नियमावलीमा मूल्यांकन समिति र पुनःमूल्यांकन समितिको मात्र व्यवस्था छ। तर, यसलाई बेवास्ता गर्दै परामर्शदातालाई मूल्यांकन गर्न लगाइयो।
परामर्शदाता लामेयरले भारतीय राजदूतावास मार्फत एक्जिम ब्यांकलाई आफूले गरेको मूल्यांकन विद्युत् प्राधिकरणले अगाडि बढाएन भन्ने गुनासो गर्दै चिठी लेख्यो। लामेयरलाई यस्तो चिठी लेख्ने अधिकार र हैसियत छैन। यसले बुझाउँछ, सोलु करिडोरमा बोलपत्र आह्वान गर्नुअघि नै भित्रभित्रै केही चलखेल भइरहेको थियो।
टेन्डर खोलेपछि पेश भएका दस्तावेजका आधारमा निर्णय हुने हो। तर, सोलु करिडोरमा यस्तो भएन। ठेकेदारले भिरालो पहाडी क्षेत्रमा ६० किलोमिटर काम गरेको हुनुपर्छ भन्ने टेन्डरमा लेखिएको छ। तर, उसले गर्दै नगरेको काम नक्कली प्रमाणपत्रको आधारमा मान्यता दिइयो।
जगुवार ओभरसिजको कागजातले अफगानिस्तानको साल्मा ड्याम प्रोजेक्ट अन्तर्गत भिरालो पहाडी क्षेत्रमा ११० केभी प्रसारण लाइन ‘टर्न की प्रोजक्ट’ बनाइसकेको छ र त्यसमध्ये ७० किलोमिटर प्रसारण लाइन भिरालो पहाडी भूभागमा पर्छ भन्छ। तर, मूल्यांकनकर्ताले ‘सिभिल वर्क’ र ‘फाउण्डेशन’ को काम नगरेको भनेर जगुवारलाई हटाइदिए। जबकि ‘टर्न की प्राजेक्ट’ मा फाउण्डेसन मात्र होइन सम्पूर्ण चीज पर्छ।
सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीले भारूमा ‘बीड सेक्युरिटी’ राखेको थियो। सेक्युरिटी बीड भनेको जफ्त वा फिर्ता गर्ने रकम हो। रकम भारूमा जम्मा गरे पनि भुक्तानी नेपाली मुद्रामा हुन्छ। नभए डलर खाता वा अन्य मुद्राको खाता छ भने त्यही मुद्रामा भुक्तानी हुन्छ। यसमा विवाद नहुनुपर्ने हो।
ज्वाइन्ट भेन्चरका लागि यस्तो कागजात पेश गर्नु भनेर अनुसूची बनाएर ढाँचा तोकिएको थिएन। त्यसैले सबैले आफ्नै हिसाबले कागजात पेश गरे। कागजातले प्रथम साझेदारलाई दोस्रो साझेदारको इन्चार्ज भनेको छ। बोलपत्र कागजातमै दुवै साझेदार उत्तिकै जिम्मेवार हुने भनेपछि ज्वाइन्ट भेञ्चर सम्झौतामा सबै खुलाउनु आवश्यक छैन। ‘ज्वाइन्ट भेन्चर’ सम्झौतालाई नै मान्यता नदिएपछि ‘पावर अफ अटर्नी’ को अर्थ रहँदैन।
सोलु करिडोरमा एउटा समितिको अध्ययन प्रतिवेदन पाइएन भनेर मैले फरक मत पेश गरेको हुँ। विकृति प्राधिकरणभित्रै छ।
(क्षेत्रीले लेखा समितिमा दिएको बयान)
- See more at: http://www.himalkhabar.com/128251#sthash.8zo5I1Wj.dpuf

Friday, May 6, 2016

लघुवित्त, नयाँ शोषक

लोकमणि राई

गरीबी घटाउने उद्देश्यले खुलेका लघुवित्त गरीबकै लागि गलपासो बन्दैछन्।
shukmati
शुकमति विश्वकर्मा र उनले बुझाएको चर्को ब्याजको रसिद तल।
व्यापार बढाउने र गरीबी पन्छाउने– धनकुटा नपा १४ की भक्तकुमारी रायाको सपना थियो। धनकुटा बसपार्कमा रोकिएका यात्रुलाई टमाटर बेच्ने उनमा जाँगर र सीप दुवै थियो। कमी थियो त लगानीको। सल्भ नेपाल लघु वित्त संस्थाबाट सामूहिक जमानीमा ६ महीनाअघि विना धितो रु.१ लाख २० हजार ऋण लिएपछि उनलाई लाग्यो– अब दुःखका दिन सकिए।
तर, दुःख त बल्ल शुरू भएको थियो। २३ प्रतिशत ब्याजदरमा उनले पाएको रु.१ लाख १४ हजार ३०० मात्र थियो, बाँकी रकम बीमा, प्रशासनिक खर्च र उनकै खातामा राखिएको भनियो।
ऋणले व्यापार त बढाइन् तर उनको आर्थिक हैसियत जस्ताको तस्तै छ। किस्ताबन्दीमा साँवा–ब्याज मासिक रु.११ हजार ५०० तिर्दै आएकी उनी निराश छिन्। “कमाइ जति ब्याज तिर्दैमा ठिक्क हुन्छ”, उनी भन्छिन्, “दुई/चार पैसा बचत गर्ने पनि सपनै भयो।”
shukmati_rasidबैगुनधुरा–३, झापाकी शुकमति विश्वकर्माले ६ वर्षअघि साना किसान सहकारीबाट रु.८० हजार ऋण लिएकी थिइन्। हालसम्म रु.६३ हजार ५०० तिरिसकेकी छन्। तर, सहकारी भन्छ– शुकमतिले अझै रु.१ लाख ११ हजार २४१ बुझाउनै बाँकी छ। साना किसान विकास ब्यांकबाट ५ देखि ९ प्रतिशतसम्म ब्याजमा थोक कर्जा लिएर विपन्न वर्गमा ऋण लगानी गरेको सहकारीले विलम्ब शुल्क र २२ प्रतिशत ब्याजबाट यस्तो हिसाब निकालेको हो। उनी अहिले ऋण तिर्न खेत बेच्ने तयारीमा छिन्।
बैगुनधुरा–९ का रत्नबहादुर कुँवर पनि सोही सहकारीका अर्का ‘शिकार’ हुन्। २०६९
सालमा रु.२ लाख ऋण लिएका उनी साँवा–ब्याज तिर्न नसकी एक वर्षअघि एकाएक परिवारसहित गाउँबाट हराए। उनको घरमा ताला लागेको छ। तर, कुँवरका भाइ सन्तोष दाजु भारतको नयाँदिल्ली गएको र उतैबाट ऋण तिरिसकेको बताउँछन्।
कागजमा भन्ने हो भने लघुवित्तको उद्देश्य दुर्गम र ग्रामीण क्षेत्रका तल्लो तहमा आर्थिक पहुँच पुर्‍याई उद्यमशीलता विकास गर्ने हो। साहू–महाजनको ३६ प्रतिशतको ब्याजबाट मुक्ति पाउने अस्त्रको रूपमा पनि लघुवित्तलाई हेरिएको थियो। तर, व्यवहारमा यी संस्थाहरू अचाक्ली ब्याजदर असुल्दै देशको कुल जनसंख्याको पाँच भागको एक भाग नेपालीलाई झ्नै तन्नम बनाइरहेका छन्। र, लघुवित्त संस्थाको यस्तो ‘शोषण’ लाई सरकार आँखा चिम्लिएर सदर गरिरहेको छ।
ब्याजको ज्यादती
Cover.inddसाना किसान कार्यक्रमका रूपमा २०३२/३३ देखि नुवाकोटको तुप्से र धनुषाको महेन्द्रनगरबाट लघुवित्त कर्जा शुरू भएको हो। त्यसवेला दाताको सहयोगमा कृषि विकास ब्यांक अन्तर्गत सञ्चालित यो कार्यक्रमलाई १५ वर्षपछि साना किसान विकास ब्यांकमा रूपान्तरण गरियो। २०४८ मा सहकारी ऐन आएलगत्तै लघुवित्त कर्जा मौलाउन थालेको हो।
मुलुकमा दर्ता ४१ मध्ये ४० लघुवित्त संस्था सञ्चालनमा छन्। नेपाल राष्ट्र ब्यांकले गत असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार, ती संस्थामा कुल १६ लाख ९ हजार २९२ बचतकर्ता आवद्ध छन्, जसमध्ये ११ लाख ४० हजार ३८० जनाले ऋण लिएका छन्। प्रति घरधुरी एक जनालाई मात्रै ऋण दिने व्यवस्था भए पनि ऋणको भार सम्पूर्ण परिवारले नै बोक्नुपर्छ। यस हिसाबमा करीब ५६ लाख जनसंख्या लघुवित्तको असर बेहोरिरहेको छ।
लघुवित्त संस्थाहरूको आकर्षण भनेको विपन्नलाई विना धितो ऋण हो। तर, यसमा समूह जमानी बस्नुपर्छ। राष्ट्र व्यांकका अनुसार, मुलुकभर ३ लाख २० हजार ४७ यस्ता समूह छन्।
परेवादिन–६, धनकुटास्थित पाथीभरा महिला केन्द्रकी सदस्य चुङ्वा शेर्पाले सल्भ नेपालबाट रु.१ लाख ५० हजार ऋण लिइन्। तर, उनको हातमा भने रु.१ लाख ४३ हजार मात्र पर्‍यो। संस्थाले उनको खातामा रु.५ हजार मौज्दात रहेको बताएको छ। बाँकी रु.२ हजार के–के शीर्षकमा लिइयो भन्ने जानकारी शेर्पालाई छैन।
धनमाया राईः सामूहिक जमानी बसिदिंदा उनले आफूसहित चार जनाको ऋणको किस्ता तिरिरहेकी छिन्।
धनमाया राईः सामूहिक जमानी बसिदिंदा उनले आफूसहित चार जनाको ऋणको किस्ता तिरिरहेकी छिन्।
ब्याजबाहेक उनीहरूले सेवा शुल्क/प्रशासनिक खर्चका नाममा करीब २ प्रतिशत र बीमा शुल्कबापत ०.७ प्रतिशत अलग्गै असुलिरहेका छन्। अग्रिम रूपमा असुलिने यस्तो रकम जोड्दा लघुवित्त संस्थालाई साँवामा करीब २६ प्रतिशत रकम थपेर भुक्तान गर्नुपर्छ। ऋणीले ऋणबापत आफ्नो खातामा तोकिएको रकम राख्नु अनिवार्य छ।
राष्ट्र ब्यांकका अनुसार, यी लघुवित्त संस्थाले रु.५९ अर्ब ४९ करोड ५३ लाख २६ हजार ऋण प्रवाह गरेका छन्। बढीमा १८ महीनासम्मको कर्जा अवधिबाट रु.१३ अर्ब ८७ करोड ६३ लाख १२ हजार ब्याज असुलिसकेका छन्। यस हिसाबमा ऋणीले औसतमा २३.२३ प्रतिशत रकम ब्याज बापत फिर्ता गरिरहेको देखिन्छ। उता वाणिज्य ब्यांकहरूले १२ प्रतिशत ब्याजदरमा व्यावसायिक कर्जा नै उपलब्ध गराइरहेका छन्।
राष्ट्र ब्यांकको आँकडा अनुसार, लघुवित्तमा आवद्ध सदस्यहरूको अनिवार्य बचत रु.५ अर्ब ७७ करोड ६९ लाख ८ हजार ३११ रहेकोमा स्वेच्छिक बचत रु.५ अर्ब ७१ करोड ३० लाख ७२ हजार ७६९ मात्र छ। यस हिसाबले लघुवित्तका एक सदस्यले औसत रु.३ हजार ५५० स्वेच्छिक बचत गरेका छन्।
तर, किस्तामा ऋण तिरिरहेका हरेकले औसत रु.१२ हजार १६८ ब्याज मात्रै तिरिरहेका छन्। यसले ऋणीले बचतको तुलनामा झ्न्डै ३४३ प्रतिशत बढी ब्याजमै बुझाइरहेको देखिन्छ।
राष्ट्र ब्यांकले पहिलोपटक ४ असोज २०६८ मा परिपत्र जारी गर्दै वाणिज्य ब्यांक, विकास ब्यांक र फाइनान्सले कुल कर्जा सापटको निश्चित प्रतिशत कर्जा गरीब तथा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था थालेको थियो।
Cover.indd२१ साउन २०७२ मा संशोधित व्यवस्था अनुसार, वाणिज्य ब्यांकले कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत, विकास ब्यांकले ४.५ प्रतिशत र फाइनान्सले ४ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्छ। तोकिए अनुरूप कर्जा प्रवाह नगरे हर्जाना तिर्नुपर्ने राष्ट्र ब्यांकको प्रावधानबाट जोगिन वित्तीय संस्थाहरूले ५ देखि ८ प्रतिशतसम्म ब्याजमा लघुवित्त संस्थालाई थोक कर्जा उपलब्ध गराइरहेका छन्।
तर, लघुवित्त संस्थाहरूले भने मध्यस्थता लागतका रूपमा १३.२३ प्रतिशतदेखि १८.२३ प्रतिशतसम्म नाफा राखी विपन्नबाट औसतमा २३.२३ प्रतिशत रकम ब्याजबाट उठ्ने गरी ऋण प्रवाह गरिरहेका छन्। समस्याको जड यही हो।
नेपाल माइक्रोफाइनान्स ब्यांकर्स एशोसिएसनका अध्यक्ष धर्मराज पाण्डे ब्याजदर २० प्रतिशतमा झ्ारेको दाबी गर्छन्। लघुवित्तका वेबसाइटहरूका अनुसार भने ब्याजदर २२ प्रतिशतसम्म मात्रै छ। तर, प्रमाण त्यसो भन्दैन। सल्भ नेपालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर प्रधान आफ्नो संस्थाले २३ प्रतिशत मात्रै ब्याज लिइरहेको बताउँछन्। भन्छन्, “अरू लघुवित्त संस्थाको ब्याज २५ प्रतिशतसम्म छ।”
“लुघवित्त ब्यांकहरूले २७ प्रतिशतसम्म ब्याज लिइरहेका छन्, यो ज्यादतीको हद हो”, साना किसान ब्यांकका अध्यक्ष खेमबहादुर पाठक भन्छन्। अधिकतम ८ प्रतिशत ब्याजदरमा ऋण लिएका ‘घ’ वर्गका लघुवित्तले ४ प्रतिशत मात्रै नाफा राखी ऋण प्रवाह गर्दा पनि फाइदा हुने उनको तर्क छ। “हामी १२ प्रतिशत ब्याजदरमै सन्तुष्ट छौं”, उनी भन्छन्।
तहतहका बिचौलिया
विष्णुकुमारी लिम्बूः चर्को ब्याजका कारण आठ जनाले एकै पटक समूह छाडे।
विष्णुकुमारी लिम्बूः चर्को ब्याजका कारण आठ जनाले एकै पटक समूह छाडे।
लघुवित्त कर्जा हात पार्न विपन्नले तीन तहसम्मको बिचौलिया बेहोर्नुपर्छ। पहिले त वाणिज्य ब्यांक, विकास ब्यांक र फाइनान्सले विपन्न वर्गमा अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने कर्जा लघुवित्त ब्यांकलाई दिन्छन्।
अधिकांश लघुवित्त संस्थाले आफूले पाएको कर्जा सामूहिक जमानीमा विना धितो सहकारी वा समूहलाई उपलब्ध गराउँछन्। सामूहिक जमानी बसिदिने सहकारी/समूहले केही प्रशासनिक खर्च पाइने शर्तमा मात्र ऋणका लागि जमानी बस्छ।
केही लघुवित्त संस्थाले भने आफूले पाएको थोक कर्जा ब्याजमा नाफा खाई आफू जस्तै लघुवित्तलाई दिन्छन्। अन्य लघुवित्त संस्थालाई थोक कर्जा उपलब्ध गराउनेमा साना किसान विकास ब्यांक, फर्स्ट माइक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्सलगायत करीब आधा दर्जन छन्।
साना किसानले त सरकारबाट समेत १ प्रतिशत न्यून ब्याजमै थोक कर्जा पाइरहेको छ। मासु र दूध उत्पादनका लागि प्रवाह गरिने त्यस्तो कर्जाको ब्याजमा ४ प्रतिशत नाफा राखी ५ प्रतिशत ब्याजदरमा साना किसानले अन्य लघुवित्त र सहकारीलाई कर्जा दिइरहेको छ।
त्यसमा ती लघुवित्त संस्था र सहकारीले थप ४ प्रतिशत नाफा राखी ९ प्रतिशत ब्याजमा विपन्नलाई कर्जा दिइरहेको साना किसान ब्यांकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माको दाबी छ।
यसरी २ देखि ३ तहसम्मका बिचौलियालाई ब्याजमा नाफा तथा प्रशासनिक खर्च सुनिश्चित गर्नुपर्ने जिम्मा अरू कसैको नभई गरीब ऋणीकै थाप्लोमा पर्छ।
Cover.inddविना धितोको सुविधा भए पनि ऋण पाउन अनेक शर्त पूरा गर्नुपर्छ। ऋणका लागि जमानी बसिदिने समूहको प्रशासनिक खर्च पनि ऋणीले नै बेहोर्नुपर्छ। बिरामी वा अन्य कारणले मासिक बैठकमा उपस्थित हुन नसके तोकिएको जरिवाना पनि तिर्नुपर्छ।
समूहका कुनै सदस्यले समयमै किस्ता तिर्न नसके लघुवित्त संस्थाले जमानी बसिदिने समूहसँगै असुल्छ। त्यसैले पनि समूहका कुनै सदस्यले तोकिएको दिनमै किस्ता नतिरे समूहका अन्य सदस्यले र्‍याखर्‍याख्ती पार्छन्। “आफ्नै गाउँघरका दिदीबहिनी घर घेर्न आउँदा जिउँदै मरेतुल्य हुन्छ”, लघुवित्तबाट ऋण लिएकी धनकुटाकै एक महिला भन्छिन्।
धनकुटा ७ स्थित एकता महिला केन्द्रकी संयोजक धनमाया राई एक्लैले तीन जनाको ऋण तिरिरहेकी छन्। गत वर्ष करेन्ट लागि श्रीमान्को एउटा हात गुमेपछि ऋण तिर्न बहराइन पुगेकी समूहकी सदस्य यशोदा राई, ऋण तिर्न भनेरै विदेशिएकी आमाजू र आफ्नो गरी सबैको मासिक किस्ता बुझाइरहेकी छन्।
एकैपटक तीन जनाको किस्ता बुझ्ाउन नसकेपछि उनले अर्को लघुवित्तबाट ऋण लिएर श्रीमान्लाई हालै मात्र विदेश पठाएकी छन्। “विदेशबाट पठाएको पैसा र आफ्नो आम्दानी मिलाएर मुश्किलले मासिक किस्ता तिरिरहेकी छु”, उनी भन्छिन्।
धनकुटाको चुलीबोटे महिला केन्द्रकी पूर्व संयोजक विष्णुकुमारी राई लिम्बूसहितका ८ सदस्यले लघुवित्तको चर्को ब्याजकै कारण समूह छाडे। “२३ प्रतिशत ब्याज तिर्दातिर्दा हैरान भयौं”, उनी भन्छिन्। लिम्बूजस्तै लघुवित्तबाट आतंकित थुप्रै गाउँलेले सदस्यता त्यागेका पनि छन्। राष्ट्र ब्यांकका अनुसार, ५ हजार ३२३ समूह र ३२ हजार ७०१ सदस्य निष्त्रि्कय छन्।
Cover.inddलघुवित्त ‘व्यवसाय’
भारी ब्याजदर अन्तर, प्रशासनिक खर्च र सेवा शुल्कका कारण सञ्चालनमा रहेका ४० वटा मध्ये लगभग सबै लघुवित्त संस्था फाइदामा छन्। पछिल्लो समय लघुवित्त संस्थाको शेयरमा सर्वसाधारणको रुचि बढ्नुले पनि यसको पुष्टि गर्छ।
गत फागुनमा मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाले निष्काशन गरेको शेयरका लागि दुई दिनमै ४३ गुणा बढी आवेदन परेको थियो, जसबाट झ्न्डै रु.२ अर्ब ६२ करोड संकलन गरेको थियो। यो माइक्रोफाइनान्समा ग्लोबल आईएमई, सिटीजन, निक एशिया, प्रभु, सिद्धार्थ, एनएमबी, प्राइम कमर्सियल, जनता, सोसाइटी डेभलपमेन्ट, देव विकाससहित १० वटा ब्यांकको ६९.४० प्रतिशत शेयर लगानी छ।
त्यसो त अन्य १९ वटा लघुवित्त संस्थाका प्रवर्द्धक वाणिज्य ब्यांक, विकास ब्यांक र फाइनान्स कम्पनी नै हुन्। यसले गरीब तथा विपन्न वर्गलाई कर्जा उपलब्ध गराउने दायित्व लघुवित्त संस्थालाई जिम्मा लगाएर ठूला ब्यांकले ब्याज र लघुवित्त संस्थाको नाफाबाट समेत दोहोरो फाइदा लिइरहेको देखिन्छ।
Cover.inddराष्ट्र व्यांकका अनुसार, ४० लघुवित्त संस्थाले गत असोजसम्म रु.२ खर्ब ९२ अर्ब ९३ करोड २७ लाख ८६ हजार ९०० कुल कर्जा वितरण गरेका छन्। त्यसमध्ये रु.५९ अर्ब ४९ करोड ५३ लख २६ हजार असुल्न बाँकी छ। असुल्न बाँकीमध्ये रु.७३ करोड ८५ लाख ७७ हजार ७२४ भाखा नाघेको कर्जा हो। यस हिसाबले ०.२५ प्रतिशत कर्जा मात्र जोखिममा छ।
सबै लघुवित्त संस्थामा कुल ५ हजार ९०० कर्मचारी छन्। सबै कर्मचारीलाई मासिक तलब रु.१ लाख दिएर ‘फिल्ड भिजिट’ मा खटाउने र एउटा लघुवित्त संस्थाको कार्यालय सञ्चालनका लागि वर्षको रु.१ करोड अतिरिक्त छुट्याउने हो भने पनि रु.७ अर्ब ४८ करोड मात्र खर्च हुन्छ। जबकि लघुवित्तलाई ब्याजबाट मात्रै वार्षिक रु.१३ अर्ब ८७ करोड ६३ लाख १२ हजार आम्दानी भइरहेको छ। “लघुवित्त कर्जामा अन्य व्यावसायिक कर्जा जति पनि जोखिम देखिएन”, राष्ट्र ब्यांकका एक अधिकारी भन्छन्।
त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थानका योजना प्रमुख अर्थशास्त्री हरिकृष्ण पन्त उच्च ब्याजदर असुलीकै कारण लघुवित्त छुट्टै व्यवसायका रूपमा फस्टाएको बताउँछन्। लघु कर्जाको उद्देश्य अनुरूप कृषिमा खासै लगानी नभएको बताउँदै उनी यसको प्रभावकारिताबारे खास अध्ययन नै नभएको तर्क गर्छन्। “लघु कर्जा लिएर कतिपय विदेश गइरहेका छन्”, उनी भन्छन्।
दुर्गम र विपन्नकेन्द्रित भनिए पनि अधिकांश लघुवित्त संस्था सदरमुकामकेन्द्रित छन्। चितवनलगायतका सुगम र शहरी क्षेत्रमा १४ वटा लघुवित्त संस्था सक्रिय छन्। भोजपुर, सोलुखुम्बू र बझ्ाङमा ३, दैलेख, जाजरकोट, बैतडी र दार्चुलामा २ र खोटाङ, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला र बाजुरामा एउटा मात्रै लघुवित्त संस्था छ। (हे. नक्सा)
निकम्मा नियामक!
औसत ब्याजदर अन्तर १२.७ प्रतिशत राखेको भन्दै १३ जेठ २०७१ मा राष्ट्र ब्यांकले काभ्रेपलाञ्चोकस्थित नयाँ नेपाल लघुवित्त विकास ब्यांकलाई मध्यस्थता लागतका रूपमा लिइने ब्याजदर अन्तर कम गर्न निर्देशन दिएको थियो। यस्तो निर्देशन अरू लघुवित्त संस्थाले पनि पाएका थिए। तर, लघुवित्त ब्यांकले ब्याजदर घटाएनन्।
घटोस् पनि कसरी? नियामक निकाय राष्ट्र ब्यांक यस्ता लघुवित्तकै दाहिना भई बसेको छ। राष्ट्र ब्यांकका लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक विनोद आत्रेयको भनाइ पनि लघुवित्त संस्थाका सञ्चालककै जस्तो छ। उनी लघुवित्तले बढी ब्याज लियो भन्नुअघि उनीहरूको आर्थिक स्रोत र प्रशासनिक खर्चमा ध्यान दिन सुझाउँछन्। “खुला बजारमा हामीले ब्याजदर नियन्त्रण गर्न मिल्दैन, बजार आफैंले गर्छ”, उनी भन्छन्।
आत्रेय लघुवित्तको ब्याजदर नियन्त्रणका लागि ब्यांकले ग्राहक संरक्षण कोषको स्थापना गरेको बताउँछन्। उनका अनुसार यो कोषमा २० प्रतिशत लाभांश वितरण गर्ने लघुवित्तले १ प्रतिशत तथा सोभन्दा बढी लाभांश वितरण गर्नेले २५ प्रतिशत रकम अनिवार्य रूपमा राख्नुपर्छ। खासमा लघुवित्तले अत्यधिक लाभांश बाँड्न थालेपछि त्यसलाई नियन्त्रण गर्न यो व्यवस्था गरिएको हो।
कोषको रकम ग्राहकमा उद्यमशीलता विकास र वित्तीय साक्षरता बढाउने जस्ता ग्राहकको हितमा खर्च गर्न सकिने राष्ट्र ब्यांकको निर्देशन छ। तर, यसका लागि कुनै पनि लघुवित्त संस्थाले राष्ट्र ब्यांकबाट कार्यविधि स्वीकृत गराएकै छैनन्।
नेपाल माइक्रोफाइनान्स ब्यांकर्स एशोसिएसनका अध्यक्ष पाण्डे केही वर्षअघिसम्म ब्याजदर २५ प्रतिशतसम्म रहेकोमा अहिले २० प्रतिशतमा झारिएको दाबी गर्छन्। “दुर्गम क्षेत्रमा भ्रमण गर्नुपर्ने भएकैले संस्थाको प्रशासनिक खर्च बढेको हो”, उनी भन्छन्, “ब्याजदर बढ्नुको कारण पनि यही हो।” लघुवित्त संस्थाले ऋणीसँग छुट्टै प्रशासनिक खर्च भने नउठाएको उनको दाबी छ। पाण्डे लघुवित्त संस्था नियमनका लागि संघले संयन्त्र नै बनाएको बताउँछन्।
साना किसान ब्यांकका अध्यक्ष पाठकको भनाइमा भने ब्याजदर अन्तर ४ प्रतिशत राखेरै पनि प्रशासनिक खर्च आरामले धानिन्छ। सरकारले धेरै लघुवित्त संस्था खोल्न दिएकाले कतिपयले पर्याप्त सदस्य बनाउन नसकेकै कारण प्रशासनिक खर्च जुटाउन बढी ब्याज उठाएको उनी बताउँछन्।
-साथमा गोपाल गडतौला, झापा र सन्तोष रुचाल, धनकुटा
—————————
सशक्तीकरणमा योगदान
dharmaधर्मराज पाण्डे,
अध्यक्ष, नेपाल माइक्रोफाइनान्स ब्यांकर्स एशोसिएसन
नेपालमा मात्र होइन, संसारभर लघुवित्त कर्जाको ब्याज बढी हुन्छ। हामीकहाँ पहिले २५ प्रतिशतसम्म ब्याजदर लिइन्थ्यो तर अहिले २० प्रतिशतभन्दा माथि ब्याज कसैले लिंदैनन्। तुलनात्मक रुपमा यो सस्तो ब्याजदर हो।
विना धितो ऋण दिनुपर्ने भएकाले लघु कर्जा जोखिमयुक्त छ। थोरै थोरै ऋण दिनुपर्छ, दुर्गम क्षेत्रमा पुग्नुपर्छ। त्यस्तो ठाउँमा पैसासम्मको पहुँच नै सबैभन्दा महत्वपूर्ण कुरा हो। ९५ प्रतिशत महिला तथा ७० प्रतिशत आदिवासी जनजाति र मधेशीलाई कर्जा दिइने भएकाले लुघवित्तले सशक्तीकरण बढाएको छ। समूह निर्माण तथा नेतृत्व विकासमा सहयोग पुगेको छ। त्यसबाहेक हामी ऋणीलाई शिक्षा र जनचेतना सम्बन्धी प्रशिक्षण दिन्छौं।
सबै लघुवित्तले नाफा मात्र कमाएका छैनन्। ब्याज केही महँगो होला, तर उपलब्धि पनि भएका छन्। कोही ऋणी पनि बर्बाद भइयो भन्दै आएका छैनन्। फेरि, हामीले सरकारबाट साना किसान ब्यांक जस्तो १ प्रतिशत ब्याजदरमा पैसा पनि पाएका छैनौं। ब्यांकले ८ प्रतिशत व्याजदरमा हामी जस्ता लघुवित्त संस्थालाई थोकमा कर्जा दिएको छ। ब्याज धेरै लियो भनेर मात्रै हुँदैन। हाम्रा समस्या पनि धेरै छन्।
—————————-
ज्यादतीको हद
khemखेमबहादुर पाठक, अध्यक्ष
सानाकिसान विकास ब्यांक
दुर्गम, ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउँदा प्रशासनिक खर्च बढ्नु स्वाभाविक हो। त्यस क्षेत्रका मानिसले सानो कर्जा लिन्छन्। ठूला ब्यांकले उनीहरूलाई पत्याउँदैनन्। लघुवित्त संस्था आफैं र सहकारीमार्फत दैलोमै पुगेर सेवा प्रदान गरिरहेका छन्। चेतना वृद्धि, सीप र प्राविधिक ज्ञान विकासमा भूमिका खेलेका छन्।
तर, लघुवित्तको ब्याजदर भने तीतो यथार्थ हो। साथीहरू मलाई सार्वजनिक कार्यक्रममा ब्याजदरबारे टिप्पणी नगर्न अनुरोध गर्छन्। तर, ८ प्रतिशत ब्याजमा ल्याएको रकममा २७ प्रतिशतसम्म ब्याज लिने? योभन्दा ज्यादती के हुनसक्छ? नाफाको पनि सीमा हुनुपर्दैन?
विपन्न वर्गमा लगानी नगरे कारबाही हुने प्रावधानबाट जोगिन कतिपय ठूला ब्यांकले लघुवित्त संस्थामा लगानी गरी फाइदा लिइरहेका हुनसक्छन्। अधिकांश लघुवित्त सुगम र सदरमुकामकेन्द्रित छन्।
ऋणी उक्सन नसक्नुमा अरु पनि कारण छन्। कर्जा दिनुपूर्व किसानलाई ज्ञान र सीप दिइनुपर्ने हो, कर्जा दिंदा व्यवसायलाई आधार पनि बनाइएको छैन। व्यवसाय गर्न नसक्नेलाई कर्जा दिएमा दिने, लिने दुवै फस्छन्।
————————
लक्ष्यबाट भाग्दै
harikrishnaहरिकृष्ण पन्त,
योजना प्रमुख, कृषि र पशु विज्ञान अध्ययन संस्थान, त्रिवि
ग्रामीण र दुर्गम क्षेत्रका विपन्न वर्गमा उद्यमशीलता विकास गरी उनीहरूको आर्थिकस्तर उकास्नु लघुवित्त कर्जाको उद्देश्य हो। त्यसका लागि मुख्य रुपमा कृषि र पशुपालनमै लगानी हुने भन्ने हो। तर, बढीजसो ऋण प्रवाह सानातिना व्यापार र वैदेशिक रोजगारमा भइरहेको छ। यसले दुर्गममा कृषि उद्यमशीलता विकास गर्ने लक्ष्य पूरा हुने देखिन्न।
लघुवित्त कर्जाको नराम्रो पक्ष भनेकै उच्च ब्याजदर हो, जसलाई धान्न किसानलाई गाह्रो परिरहेको छ। लामो र प्रशासनिक झमेलाका कारण कर्जा पनि सबैले पाउने अवस्था छैन। धितो राख्न नसक्नेले कर्जा पाउन समूहमा आवद्ध हुनैपर्छ। त्यसैले लक्षित विपन्न वर्गसम्म लघुवित्त कर्जा अझै पुग्न सकिरहेको छैन। अहिले त लघुवित्त कर्जा आफैंमा व्यवसाय बनेको छ। विपन्न वर्गको उत्थान गर्ने लक्ष्य कत्ति पनि पूरा भएको छैन।
लघुवित्त कर्जाको प्रभावबारे अनुसन्धान भएकै छैन। हामी त्रिविमा यसबारे कुराकानीसम्म गरिरहेका छौं। तर, शोधपत्र तयार गर्ने वेला विद्यार्थी कृषिसँग जोडिएका अन्य मुद्दामा आकर्षित भइरहेका छन्। तर, अब लघुवित्त कर्जाका असरबारे विस्तृत अध्ययन आवश्यक छ। प्रभावकारिता र सुधारका लागि पनि यसो नगरी हुन्न।
———————-
ब्याजदर नियन्त्रण गर्न मिल्दैन
binodविनोद आत्रेय, प्रमुख
लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षण विभाग, नेपाल राष्ट्र ब्यांक
एकाध नयाँ लघुवित्त संस्थाले २२ प्रतिशतसम्म ब्याज लिए होलान्। तर, कतिपयले १६ प्रतिशत ब्याजमा पनि कर्जा दिइरहेका छन्। ब्याजदरमा अन्तर देखियो भन्दैमा ब्याज बढी भयो भन्नुहुँदैन। अहिलेको अवस्थामा ग्रामीण क्षेत्रका विपन्न वर्गले घरदैलोमै विना धितो लगानी पाउनु नै ठूलो कुरा हो। लघुवित्त संस्थाको सञ्चालन खर्च नै ६/७ प्रतिशत छ। त्यसबाहेक ब्याजदर अन्तर ५/६ प्रतिशत हुनु ठीकै हो।
खुला बजारमा ब्याजदर तोक्ने अधिकार राष्ट्र ब्यांकलाई छैन। तर, हामीले नियन्त्रण नै नगरेको भन्ने होइन। ग्राहक संरक्षण कोषको स्थापना यसैका लागि हो। यो रकम पनि विपन्नमै खर्च हुने हो। अनौपचारिक रुपमा ब्याजदर १६ प्रतिशतमा झार्नुपर्छ भनी भनिरहेकै छौं।
- See more at: http://www.himalkhabar.com/126450#sthash.Um0QYu7l.dpuf

Friday, February 20, 2015

आधा मेगावाटका लागि डेढ अर्ब

लोकमणि राई       


काठमाडौ, माघ २९ -  करिब ४ सय किलोवाट (० दशमलव ४ मेगावाट) को दुई लघु जलविद्युत् आयोजना मर्मत सम्भारका लागि करिब १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव कार्यान्वयनका लागि निर्णय गर्न विद्युत् प्राधिकरण सञ्चालक समितिमा दबाब परेको छ ।
यो प्रस्ताव नयाँ जलविद्युत् आयोजना निर्माण लागतभन्दा कम्तीमा १६ गुणा महँगो हो । प्रतिमेगाबाट जलविद्युत् आयोजना निर्माण लागत करिब २० करोड रुपैयाँ छ ।
प्रस्तावित रकमबाट करिब ७ मेगावाट (७ हजार किलोवाट) क्षमताको नयाँ जलविद्युत् अयोजना निर्माण गर्न सकिन्छ । अर्थविद्हरूले भने विकासका नाममा यस्तो प्रस्ताव स्विकार्नु विकृति हुने बताएका छन् ।
नेपालस्थित जापानी सहयोग नियोग (जाइका) ले यस्तो दबाब दिएको उच्च सरकारी स्रोतको दाबी छ । 'जाइकाका प्रतिनिधिहरूले बारम्बार कहिले प्रस्ताव स्वीकृत हुन्छ भनेर सोधिरहनुभएको छ,' ती अधिकारीले भने ।
जाइकाले करिब १ अर्ब ५७ करोड १० लाख येन -करिब १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ) अनुदान सहयोगमा बझाङस्थित बझाङ साना जलविद्युत् केन्द्र, बाजुरास्थित बाजुरा साना जलविद्युत् केन्द्र र स्यार्पुदह साना जलविद्युत् केन्द्र मर्मत सम्भार गरिदिने प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले २०७० चैत १३ मा उक्त प्रस्ताव स्वीकृत गरी सम्झौताका लागि ढोका खोलिदिएको थियो ।
'पश्चिम नेपालको बझाङ, बाजुरा र स्यार्पुदह सामुदायिक लघु जलविद्युत् आयोजनाहरूको पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १ अर्ब ५७ करोड १० लाख बराबरको अनुदान सहायता स्वीकार गरी सोसम्बन्धी सम्झौतापत्रहरूमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने' मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । मन्त्रिपरिषदको निर्णयअनुसार जाइका र अर्थ मन्त्रालयबीच २०७१ वैशाख ९ मा सम्झौता भएको थियो ।
मर्मत सम्भारका लागि जाइकासँग सम्झौता भएको प्रत्येक आयोजनाको क्षमता २ सय किलोवाट छ । तर पछि सम्झौताको रकमले नपुग्ने भन्दै मर्मत सम्भारको सूचीबाट बाजुरा साना जलविद्युत् केन्द्र हटाइएको छ । हाल ३ वटै आयोजना बन्द छन् ।
अर्थ मन्त्रालयका एक अधिकारीले लागत ज्यादै महँगो भए पनि अरूले नै खर्च गरिदिने भएकाले प्रस्ताव स्विकारेको बताए । 'महँगो भए पनि सित्तैमा आउने हो भनेर प्रस्ताव स्विकारियो,' ती अधिकारीले भने । उनका अनुसार जाइकाले परामर्शदाता र ठेकेदार जापानमै छनोट गरेको हो । 'जापानमै टेन्डर आह्वान भयो, त्यहीँ ठेकेदार र परामर्शदाता छानियो,' उनले भने । उनका अनुसार गत कात्तिक २५ मा जापानको निप्पोन कोई परामर्शदा र मारुसिना सिताका कन्स्ट्रक्सन कम्पनी ठेकेदारका रूपमा जापानमै छानिएको हो । उनीहरूसँग ठेक्का सम्झौता पनि जापानमै जाइकाले गरेको हो ।
सम्झौताअनुसार ४ सय किलोवाटका २ लघु जलविद्युत् आयोजनाको मर्मत सम्भार लागत मात्र ९९ करोड ८८ लाख येन -करिब ८३ करोड ६४ लाख रुपैयाँ) छ । परामर्शदातालाई यो रकमबाट पारिश्रमिक दिइने छैन ।
यी ३ वटै आयोजना विद्युत् प्राधिकरणअन्तर्गत रहेकाले मर्मत सम्भारका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणसँग सहायक अनुदान सम्झौता पनि गर्नुपर्छ । 'सम्झौता (अर्थ र जाइकाबीचको) बाट प्राप्त हुने अनुदान रकम उल्लेखित लघु जलविद्युत् आयोजनाहरूको पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणलाई सहायक अनुदान सम्झौता गरी उपलब्ध गराउने' मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । तर प्राधिकरणसँग सहायक अनुदान सम्झौता भएको छैन । 'सोझै निर्णयका लागि प्राधिकरण सञ्चालक समितिमा गयो,' प्राधिकरण स्रोतले भन्यो, 'खासमा आर्थिक कारोबारका लागि प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखिदिनुपर्ने प्राविधिक समस्या उत्पन्न भएपछि यस्तो सम्झौता भएको जानकारी हामीसम्म आइपुगेको हो ।'
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सञ्चालक समितिमा विचाराधीन र दुई देशको कूटनीतिक सम्बन्धसँग जोडिएको विषय भन्दै निर्णय भएपछि मात्र औपचारिक प्रतिक्रिया दिने बताए । 'यो विषयमा प्राधिकरण सञ्चालक समितिमा छलफल भइरहेको छ,' उनले भने ।
अर्थविद् केशव आचार्यले महँगो प्रत्यक्ष अनुदान स्विकार्नै नहुने बताए । 'यसले मुलुकको अर्थतन्त्रलाई केही गर्दैन, आयोजनाको लागत मात्र बढाइदिन्छ,' उनले भने, 'अरूले गरिदयो भन्दैमा जे पनि स्वीकार्नु हुँदैन । यो विकासका नाममा विकृति हो ।' प्रत्यक्ष अनुदानमा दाताले सम्पूर्ण काम आफैं गरेर लागतको अन्तिम हिसाब मात्र सरकारलाई दिन्छ ।
आचार्यले अहिले विभिन्न आयोजनाको 'भेरियसन अर्डर' आइरहेको सन्दर्भ उल्लेख गर्दै भने, 'त्यसरी खर्च गरेपछि सरकारले बनाउने आयोनाको बेस प्राइस नै बढ्ने भयो । निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम भयो । निजी क्षेत्रले यसरी खर्च गर्न कहाँ सक्छन् । यसले विकास प्रयासमा असर गर्छ । दाताको प्रभाव बढाउन भूमिका खेल्छ ।'
जाइकाको प्रस्ताव वैदेशिक सहायता नीति विपरीतसमेत छ । नीतिअनुसार वैदेशिक सहायता देशको आवश्यकता र प्राथमिकताका आधारमा लिनुपर्छ । आचार्यका अनुसार आफ्नो प्राथमिकताका आधारमा अनुदान स्विकार्नुपर्ने बताए ।

प्रकाशित मिति: २०७१ माघ २९ १०:१२http://www.ekantipur.com/np/2071/10/29/full-story/403672.html                          

होलोग्रामको पैसा उठाउन नपाइने


काठमाडौ, पुस २७ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ व्यवसायी महासंघलाई स्वास्थ्य परीक्षण गर्ने संस्था मार्फत वैदेशिक रोजगारीमा जाने कामदारसँग २ सय रुपैयाँका दरले पैसा उठाउने काम तत्काल रोक्न निर्देशन दिएको छ ।
महासंघले २०६५ देखि कामदारको स्वास्थ परीक्षण गर्ने आफ्ना सदस्य संस्थाबाट अवैध रूपमा पैसा उठाउँदै आएको छ । प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चले उजुरी गरेपछि प्रशासनले त्यसलाई रोक्न शुक्रबार महासंघलाई लिखत निर्देशन दिएको हो । 'विदेश जानेहरूसँग स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू मार्फत क्षतिपूर्तिबापत भनी त्यहाँ संस्था (महासंघ) बाट प्रतिव्यक्ति २ सयका दरले रकम लिने गरेको सुनिन आएकाले उक्त कार्य तत्काल रोक्नु हुन,' जिल्ला प्रशासनको पत्रमा उल्लेख छ ।
साथै जिल्ला प्रशासनले महासंघलाई ७ दिनभित्र उपस्थित भई हिसाबकिताब देखाउन पनि निर्देशन दिएको छ । 'आर्थिक हिसाबकिताब प्रतिवेदनसहित छलफलका लागि पत्र पाएको मितिले ७ दिनभित्र यस कार्यालयमा उपस्थित हुन,' पत्रमा उल्लेख छ । उठाएको पैसा अनियमितता गरेको उजुरीका आधारमा जिल्ला प्रशासनले यस्तो निर्देशन दिएको हो । पत्र महासंघको कार्यालयमा शुक्रबार नै दर्ता भइसकेको छ ।
स्वास्थ्य परीक्षण गुणस्तरीय बनाउने भन्दै महासंघले श्रम तथा रोजगार मन्त्रालयबाट स्वास्थ्य परीक्षण प्रमाणपत्रमा होलोग्राम टाँस्ने स्वीकृति लिएको छ । मन्त्रालयले होलोग्रामबापत पैसा उठाउन अनुमति भने दिएको छैन । त्यसका बाबजुद कामदारलाई क्षतिपूर्तिका लागि भन्दै महासंघले प्रतिहोलोग्राम २ सय रुपैयाँका दरले पैसा उठाइरहेको छ । महासंघका सदस्य संस्थाले स्वास्थ्य परीक्षणबापत वैदेशिक रोजगारीमा जाने हरेक कामदारसँग २ सय रुपैयाँका दरले पैसा उठाएर बुझाइरहेको छ ।
त्यसबारे पटक-पटक उजुरी र गुनासो परे पनि श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ मौन छन् । उनको कार्यकालमा एकपटक परीक्षणका लागि भन्दै ६ महिना र अर्कोपटक अन्तिरिम कालका लागि भन्दै समय नतोकी होलोग्राम टाँस्ने स्वीकृति दिइएको छ ।
महासंघको वाषिर्क प्रतिवेदनअनुसार हालोग्रामबापत आर्थिक वर्ष २०६६/०६७ देखि २०७०/०७१ सम्म करिब ३२ करोड ६६ लाख ६९ हजार रुपैयाँ उठिसकेको छ । यसमध्ये कति रकम कामदारलाई क्षतिपूर्ति दिन खर्च भयो भन्ने विवरण प्रतिवेदनमा स्पष्ट उल्लेख छैन । महासंघले स्वास्थ्य परीक्षण प्रतिवेदनका कारण वैदेशिक रोजगारीबाट फर्केका हरेक कामदारलाई ४० हजार रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको दाबी गरेको छ । पछिल्लो समय कामदारले क्षतिपूर्ति नपाएको सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महासंघलाई क्षतिपूर्ति उपलब्ध गराउन लिखत निर्देशन दिएको थियो । त्यसका बाबजुद आर्थिक अनियमितताका कारण महासंघले क्षतिपूर्ति दिन नसकेको गुनासो स्वास्थ्य व्यवसायीहरूले गरिरहेका छन् ।
वैदेशिक रोजगार ऐनअनुसार स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई स्वास्थ्य परीक्षण गर्ने सम्बन्धित संस्थाले क्षतिपूर्ति दिनुपर्छ । तर महासंघले क्षतिपूर्तिको दायित्व आफूले लिएर कामदारसँग पैसा उठाइरहेको छ । प्रतिकामदार स्वास्थ्य परीक्षण गरेबापत २ सय रुपैयाँ बुझाए महासंघले क्षतिपूर्ति तिरिदिने भएकाले स्वास्थ्य परीक्षण गर्ने अधिकांश संस्थाहरूले नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र जारी गर्ने गरेका छन् ।
मञ्चका सल्लाहकार शोभित बस्नेतले महासंघले संस्था दर्ता ऐनको प्रावधानविपरीत सरकारसँग स्वीकृति नलिई कामदारसँ पैसा उठाएको, महासंघको विधानमा पनि कामदारसँग पैसा उठाउने प्रावधान नहरेको र कामदारले क्षतिपूर्ति नपाएको भन्दै जिल्ला प्रशासनमा उजुरी गरेको बताए । कामदारले क्षतिपूर्ति नपाएको भन्दै जिल्ला प्रशासनमा उजुरी गरेको बताए । 'शुक्रबारसम्म क्षतिपूर्ति नपाउने कामदारको संख्या १ हजार ९ सय ९० पुगेको छ,' उनले भने, 'अघिल्लो आर्थिक वर्ष क्षतिपूर्ति नपाउने ८ सय कामदारको संख्या जोड्ने हो भने झन्डै २ हजार ८ सयले क्षतिपूर्ति पाउन बाँकी छ ।'
नेपाल मेडिकल व्यवसायी संघले पनि महासंघविरुद्ध काठमाडौं जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा कारबाहीको माग गर्दै उजुरी गरेको छ । 'महासंघजस्तो सामाजिक संस्थालाई पैसा उठाउने अधिकार कसले दियो ?' संघका अध्यक्ष शमशेर नेपालीले भने, 'महासंघले २ सय रुपैयाँ उठाएर पैसा संकलन गर्ने र क्षतिपूर्ति दिने काम गरिरहेको छ । यो बैंक र बिमा संस्थाले गर्ने काम हो । स्वीकृति नलिई बैंकिङ र बिमासम्बन्धी काम गर्नु अपराध हो ।'
महासंघका वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले कार्यालयबाहिर रहेकाले जिल्ला प्रशासनको पत्र पढ्न नपाएको उल्लेख गरे । 'महासंघ जिल्ला प्रशासनमा दर्ता भएको सामाजिक संस्था हो,' उनले भने ।
प्रकाशित मिति: २०७१ पुस २७ ०९:००                              
http://www.ekantipur.com/np/2071/9/27/full-story/401864.html

Tuesday, September 23, 2014

पञ्चेश्वर प्राधिकरण गठन गर्न विधानमा सहमति

लोकमणि राई
काठमाडौ, आश्विन ७ - नेपाल र भारतबीच पञ्चेश्वर बहुउदेश्यीय आयोजना निर्माणका लागि पञ्चेश्वर विकास प्राधिकरणको विधानमा सोमबार सहमति जुटेको छ । यससँगै १८ वर्षदेखि प्रतिक्षाको विषय बनेको पञ्चेश्वर आयोजना बन्ने बाटो खुलेको छ ।
'सोमबार पञ्चेश्वरको विधानलाई अन्तिम रुप दिने काम भयो,' वार्तामा सहभागी उर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले भने, 'सानातिना भाषागत त्रुटी हेरेर मंगलबार हस्ताक्षर हुन्छ ।'
विधानले प्राधिकरणको संरचना, काम, कर्तव्य, अधिकार तथा दायित्वलगायतका कुरा निर्धारण गर्छ । यसैका आधारमा प्राधिकरण सञ्चालन हुन्छ । नेपाल र भारत दुई देशका अधिकारी रहने प्राधिकरण यहि विधानका आधारमा सञ्चालन हुनेछ । प्राधिकरण गठन गरि पञ्चेश्वर अगाडि बढाउने सहमति यसअघि नै भएको थियो ।
प्राधिकरणका अध्यक्षका सम्बन्धमा पनि सहमति जुटेको प्रवक्ता अधिकारीले बताए । अध्यक्ष नेपाली अधिकारी हुने की भारतीय अधिकारी हुने भन्ने मंगलबार सहमतिमा हस्ताक्षर भएपछि सार्वजनिक गरिने उनले बताए । प्राधिकरणको कार्यालय महेन्द्रनगरमा रहने यसअघि नै तय भइसकेको छ । सहमतिमा अन्तिम हस्ताक्षर सचिव स्तरमा हुनेछ । नेपालका तर्फबाट उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतका तर्फबाट भारतीय जलस्रोत सचिव आलोक रावतले सहमतिमा हस्ताक्षर गर्नेछन् ।
गत साउन साउनमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नेपाल- भारत पञ्चेश्वर प्राधिकरण स्थापना गरि पञ्चेश्वर बहुउदेश्यीय आयोजना अगाडि बढाउने सहमति भएको थियो । साउन १८ मा प्राधिकरण कार्यालय स्थापना गर्ने कार्यादेशमा सम्झौता भएको थियो । त्यतिबेला मोदीले नेपालको संसदमा १ वर्षभित्र देखिने गरि पञ्चेश्व आयोजनाको काम प्राथमिकताका साथ अघि बढाउने बताएका थिए ।
महाकाली सन्धी भएको १८ वर्षपछि त्यस अन्तर्गतको पञ्चेश्वर आयोजना प्राधिकरणमार्फत अघि बढाउने ढोका खुलेको हो । यसअघि २०६६ सालमा नेपाल- भारत उर्जा सचिवस्तरिय संयुक्त अयोगको पोखरामा बसेको तेस्रो बैठकले पञ्चेश्वर प्राधिकरणसम्बन्धी १९ बुँदे कार्यादेश तयार गरेको थियो । तर भारतले कार्यादेशको १७ र १८ बुँदामा संशोधन हुनुपर्ने अडान राख्दा ७ वर्ष ढिलाइ भएको हो ।
कार्यादेशको १७ औं बुँदामा आयोजनालाई आवश्यक सामान र उपकरणमा दुवै देशले भन्सार छुट दिने प्रावधान थियो । यो प्रावधान दुरुपयोग हुनसक्ने भन्दै भारतले संशोधनको माग राखेको थियो । त्यसमा आयोजनाले सिफारिस गरेका सामान र उपकरणलाई मात्र दुवै देशको भन्सार छुट हुने प्रावधानमा सहमति जुटेको थियो । त्यस्तै कार्यदेशको १८ औं बुँदामा आयोजनामा काम गर्ने दुवै देशका कर्मचारीलाई कुटनीतिक सुविधा दिने उल्लेख थियो । त्यसको सट्टामा आयोजनामा काम गर्ने कर्मचारीले सम्बन्धित देशको कानून मान्नुपर्ने र आयोजनामा गरको कामको आधारमा मुद्धा चलाउन वा थुन्न पाइने प्रस्तावमा सहमति जुटेपछि मोदी भ्रमणका बेला कार्यादेशमा हस्ताक्षर भएको हो ।    
महाकाली नदीमा पहिचान गरिएको पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको क्षमता ६ हजार ७ सय २० मेगावाट छ । यसमा पञ्चेश्वर बाँध (मुख्य बाँध) को जडित क्षमता ६ हजार ४ सय ८० मेगावाट रहने छ । यो बाँधबाट वाषिर्क १० हजार ६ सय ७१ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।
पञ्चेश्वर बाँधबाट विद्युत उत्पादन गर्दा प्रवाह गरिने पानीबाट उत्पन्न हुने बाढी नियमन गर्न २५ किलोमिटर पर रुपालीगढ रिरेगुलेटिङ बाँध निर्माण गरिनेछ । यसको जडित क्षमता २ सय ४० मेगावाट रहनेछ भने वाषिर्क उर्जा उत्पादन १ हजार ६ सय ५० गिगावाट आवर रहनेछ ।
कूल निर्माण लागत ३ खर्ब ३६ अर्ब अनुमान गरिएको यो आयोजनाका लागि नेपालले १ खर्ब २६ अर्बदेखि १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने अनुमान गरिएको छ । बाँकी लगानी भने भारतले गर्ने सहमति भएको छ । निर्माण अवधि १० वर्ष छ । आयोजनाका लागि नेपालले वाषिर्क करिब १३ अर्ब रुपैयाँमात्र लगानी गर्नुपर्ने भएकाले खासै आर्थिक भार नपर्ने बताइएको छ । यो आयोजना ७० मेगावाटको मध्य मस्र्याङीभन्दा १० गुणा र ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेतीभन्दा ६ गुणा सस्तो रहेको बताइएको छ ।     
सीमा नदीमा निर्माण हुने यो आयोजनाको २ वटा अन्डरग्राउण्ड पावर हाउस हुनेछ । त्यसमध्ये एउटा पावर हाउस नेपालमा र अर्को भारतमा रहने सम्झौता छ । आयोजना बने नेपाललाई उर्जा उत्पादनबाट वाषिर्क साढे ३४ अर्ब रुपैयाँ र मत्स्य पालन, सिंचाई, जडिबुटी, फलफूल खेती आदिबाट वाषिर्क ५३ अर्ब ४१ करोड रुपैयाँ फाइदा हुने दाबी गरिएको छ । आयोजनाबाट सरकारले पाउने राजश्वबाट हरेक वर्ष बैतडी जिल्लाले ५६ करोड ४० लाख रुपैयाँ र डडेल्धुराले २६ करोड १० लाख रुपैयाँ प्राप्त गर्ने हिसाव छ । त्यस्तै दार्चुला, कञ्चनपुर, कैलाली, डोटी, बझाङ, बाजुरा र अछाम प्रत्येक जिल्लाले वाषिर्क २३ करोड ४० लाख रुपैयाँ पाउने जनाइएको छ ।
यो आयोजना बन्दा २ हजार ९ सय २६ घरधुरीका २२ हजार ७ सय ६५ जनालाई पुनर्वासमा लैजानुपर्छ भने १३ करोड ८५ लाख रुपैयाँ बराबरको कृषिबाट हुने आम्दानी घट्छ । त्यस्तै यो आयोजनाबाट अन्य वातावरणीय असर पनि पुग्छ ।
प्रकाशित मिति: २०७१ आश्विन ७ ०८:१७ 

http://www.ekantipur.com/np/2071/6/7/full-story/396116.html

Thursday, August 14, 2014

दुधमा मन्द विष

http://epaper.ekantipur.com/kantipur/showtext_ajax.aspx?boxid=16383062&parentid=42111&issuedate=1282014

Wednesday, March 26, 2014

प्रति मेगावाट करोड अनुदान

लोकमणि राई
काठमाडौ, चैत्र १२ - ऊर्जा मन्त्रालयले जलविद्युत्मा निजी क्षेत्रलाई आकषिर्त गर्न आयोजनाको 'सिभिल कन्स्ट्रक्सन' सामग्रीमा प्रतिमेगावाट १ करोड रुपैयाँ अनुदान दिन अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ । ऊर्जामन्त्रीस्तरीय निर्णयबाट अर्थ मन्त्रालयलाई जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई राहत दिन प्रस्ताव गरिएको हो ।
'अनुदान रकम प्रतिमेगावाट १० लाख रुपैयाँ थियो,' ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले भनिन्, 'त्यसलाई बढाएर १ करोड रुपैयाँ पुर्‍याएका छौं ।' अर्थ मन्त्रालयले भने उक्त प्रस्ताव स्वीकृत गरिसकेको छैन । अर्थबाट स्वीकृत भएपछि अनुदान रकम बजेटमा व्यवस्था गरिन्छ । त्यसपछि प्रवर्द्धकले आयोजना निर्माण गर्दा अनुदान रकम पाउनेछन् ।
सिमेन्ट, रडलगायत आयोजना निर्माणका लागि आवश्यक सामग्री सिभिल कन्स्ट्रक्सन सामग्री हुन् । तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले २०६८ सालमा यी सामग्रीमा प्रतिमेगावाट १० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेका थिए । उनले आर्थिक क्षेत्र सुधारका लागि ३८ बुँदे कार्यक्रम ल्याएका थिए, जसमा सिभिल कन्स्ट्रक्सन सामग्रीमा प्रतिमेगावाट १० लाख रुपैयाँ अनुदानको व्यवस्था गरिएको थियो । तर उक्त रकम ज्यादै न्यून भएको भन्दै निजी क्षेत्रका जलविद्युत् परियोजना प्रवर्द्धकले उक्त रकम लिन अनिच्छा देखाउँदै आएका थिए । उनीहरूले प्रतिमेगावाट १ करोड रुपैयाँ अनुदान दिनुपर्ने माग गर्दै आएका थिए ।
'ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनाको सिभिल कन्स्ट्रक्सन सामग्रीमा प्रतिमेगावाट १ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ,' स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) अध्यक्ष खड्गबहादुर विष्टले भने, 'रकम पाएपछि उत्पादकहरूलाई केही राहत मिल्नेछ ।' प्रतिमेगावाट विद्युत् उत्पादन लागत करिब १६ करोड रुपैयाँ छ ।
जलविद्युत् आयोजना निर्माण गर्दा करिब ६० प्रतिशत सिभिल कन्स्ट्रक्सन सामग्री खपत हुन्छ । यस हिसाबले ऊर्जा उत्पादक तथा प्रवर्द्धकलाई अनुदानबाट करिब १० प्रतिशत रकम राहत पुग्छ ।
सरकारले टर्बाइन, जेनेरेटर, भल्भ, ट्रान्स्र्फमर, गियर, डाइनामो, कन्ट्रोल सिस्टमलगायत इलेक्ट्रोमेकानिकल उपकरणमा भने मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिँदै आएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार इलेक्ट्रोमेकानिकल सामग्रीमा समेत भ्याट छुट दिने गृहकार्य भइरहेको छ । 'विभिन्न प्रवर्द्धकबाट अन्य सामग्रीमा पनि भ्याट छुट दिनुपर्‍यो भन्ने माग आएको छ,' उनले भने, 'त्यस विषयमा गृहकार्य भइरहेको छ ।'
उनका अनुसार ऊर्जा उत्पादक तथा प्रवर्द्धकहरूले नाफाको कारण देखाउँदै अन्य सामग्रीमा पनि भ्याट छुट मागेका हुन् । मन्त्रालयले ऊर्जा उत्पादक तथा प्रवर्द्धकलाई आयोजना निर्माण भइसकेपछि भ्याट फिर्ता गर्न सकिने विषयमा गृहकार्य गरिरहेको छ । 'सुरुमै भ्याट फिर्ता हुन्न,' उनले भने, 'आयोजना बनिसकेपछि भ्याट फिर्ता गर्ने विषयमा गृहकार्य भइरहेको हो । तर निर्णय भइसकेको छैन ।'
करिब एक वर्षअघि ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्वमा निजी क्षेत्रका उत्पादकलाई भ्याट छुट दिने विषयमा अध्ययन गर्न समिति गठन भएको थियो ।
 

प्रकाशित मिति: २०७० चैत्र १२ ०९:४७
- See more at: http://www.ekantipur.com/np/2070/12/12/full-story/386313.html#sthash.YMCYQ0PT.dpuf

http://www.ekantipur.com/np/2070/12/12/full-story/386313.html