Wednesday, September 5, 2012
डेढ अर्ब ठगीका अभियुक्त ३५ हजारमा छुटे
लोकमणि राई
काठमाडौ, भाद्र १७ -
अवैध नेटवर्क मार्केटिङ गरी कम्तीमा १ अर्ब ४३ करोड रुपैयाँ ठगी गरेको अभियोग लागेको हर्बो इन्टरनेसनल प्रालिका दुई सञ्चालकलाई काठमाडौं जिल्ला प्रशासनले जनही ३५ हजार रुपैयाँ धरौटीमा छाडेको छ ।
प्रशासनले हर्बो अध्यक्ष गोकुल श्रेष्ठ र उपाध्यक्ष पुष्पराज पुरुषलाई त्यति कम धरौटीमा छाडेको हो । करिब दुई साताअघि प्रजिअ चूडामणि शर्माको इजलासले उनीहरूलाई धरौटी रकम तोकेको हो । 'मलाई सम्झना भएअनुसार ७० हजार रुपैयाँ धरौटीमा छाड्यौं,' शर्माले भने ।
हर्बो इन्टरनेसनलले कञ्चनजंगा टि स्टेटले उत्पादन गरेको गि्रन टी किलोको करिब १ हजार रुपैयाँमा किनेर करिब ८ हजार रुपैयाँमा बेच्ने गरेको थियो । गि्रन टीले क्यान्सरसमेत निको पार्ने भन्दै उनीहरूले सर्वसाधारणलाई भ्रममा पारी ठगेका थिए ।
क्यान्सर निको पारेको दाबी गरिएको वृत्तचित्र भएको सीडीसमेत उनीहरूले गोटाको ५ सय रुपैयाँमा बेचेका थिए । त्यस्तो सीडीमा मानसिक रूपमा अपरिपक्व बालबालिकालाई समेत हर्बोको गि्रन टी खाएर आफ्नो 'क्यान्सर निको भएको' भन्न लगाइएको छ ।
हर्बोले अवैध नेटवर्क मार्केटिङ गरी रातारात करोडपति बन्ने सपनाको व्यापार गरेको र त्यसबाट चरम सामाजिक विग्रह सिर्जना भएको सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) ले छानबिन सुरु गरेको थियो । सीआईबीको अनुसन्धानले हर्बोले २ लाख ३५ हजार ४ सय ७८ ग्राहकबाट कम्तीमा १ अर्ब ४३ करोड ३५ लाख ७५ हजार ५ सय रुपैयाँ ठगी गरेको फेला पारेको थियो ।
जिल्ला सरकारी वकिल रमेश शर्माले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा हर्बोले १ अर्ब १६ करोड ८९ लाख ६ हजार रुपैयाँ बराबरको कसुर गरेको प्रमाणका साथ हर्बोका सञ्चालकविरुद्ध नाफाखोरीको मुद्दा दायर गरेका थिए ।
प्रजिअ शर्माले भने हर्बो मुद्दामा बिगो दाबी नगरिएको र युनिटी इन्टरनेसनलले जस्तो पैसा शोषण नगरेको दाबी गरे । 'मुद्दामा बिगो दाबी पनि नगरिएकाले र युनिटीले जस्तो पैसा शोषण गरेको अवस्था नदेखिएकाले धरौटीमा छाडिएको हो,' उनले भने । उनले हर्बोले सर्वसाधारण झुक्याउने गरेको फेला नपरेको र तोकिएको मूल्यभन्दा बढीमा सामान बेचेको फेला नपरेको भन्दै कालोबजारीमा कारबाही गर्नसमेत अप्ठ्यारो परेको तर्क गरे ।
'कृत्रिम अभाव सिर्जना गरे वा सरकारले मूल्य नतोकेको वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा लिएको अवस्थामा कालोबजारीमा कारबाही गर्न सकिन्छ,' उनले भने, 'हर्बोमा यी दुवै अवस्था फेला परेको छैन ।' उनले चिया उत्पादकले बिक्री मूल्य नतोकेको अवस्थामा हर्बोले बचेको मूल्य २० प्रतिशतभन्दा बढी भयो भन्न सकिने अवस्था नरहेको बताए । 'उत्पादकले नै मूल्य तोकेको भए हर्बोको बिक्री मूल्य बढी भयो भन्न सकिन्थ्यो,' शर्माले भनेे, 'त्यस्तो नभएकाले अप्ठ्यारो परेको छ ।'
युनिटी काण्डमा जस्तै हर्बोविरुद्ध सुरुमा उजुरी गर्ने मानिस नदेखिए पनि हेलो सरकार, वाणिज्य विभाग र प्रहरीमा सहित हाल उजुरीकर्ताको संख्या करिब २ दर्जन पुगेको छ । उनीहरूले आफूहरूको करिब ३ करोड रुपैयाँ ठगिएको दाबी गरेका छन् ।
सीआईबीले हर्बोले गि्रन टीलाई औषधि भन्दै बिक्री गरेकाले औषधि ऐन अनुसार र उपभोक्ता ठगी गरेकाले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
http://epaper.ekantipur.com/epaperhome.aspx?issue=392012
प्रकाशित मिति: २०६९ भाद्र १८ ०९:११
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=278795
Subscribe to:
Posts (Atom)