Saturday, December 26, 2009

चार समझदारीमा हस्ताक्षर हुने • प्रधानमन्त्रीको आसन्न चीन भ्रमण

लोकमणि राई
काठमाडौ, २०६६ पुस १० - प्रधानमन्त्री माधवकुमार नेपालको चीन भ्रमणमा कम्तीमा चारवटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । साथै नेपालले पाँचवटा ठूला परियोजनामा सहयोग गर्न प्रस्ताव राख्ने भएको छ ।

बिहीबार अन्तिम रूपमा पाएको भ्रमण एजेन्डामा रहेका चार सम्झौतामा १५ करोड युयान रकम रहेको आर्थिक तथा प्राविधिक समन्वयसम्बन्धी समझदारीपत्र, एक करोड युयान रकम रहेको मानव संसाधन र प्रशिक्षण परियोजना, चीन विकास बैंक र नेपाल राष्ट्र बैंकबीच आर्थिक कारोबार र युथ एक्स्चेन्ज सम्बन्धी समझदारी पत्र छन् ।

नेपालले प्रस्ताव गर्ने ठूला परियोजनामा ४ सय मेगावाटको नलस्याउगाड जलविद्युत् परियोजना, मध्यपहाडी राजमार्ग, तातोपानी- जोमसोम-पोखरा फास्ट ट्रयाक, बाग्लुङ-लुम्बिनी-पोखरा फास्ट ट्रयाक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छन् । 'त्यसबाहेक शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलगायतका क्षेत्रमा प्रस्ताव राखिनेछ,' परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, 'प्रधानमन्त्रीले नीतिगत छलफलमात्र गर्नेछन्, त्यसमा सहमति भएपछि भ्रमण दलमा रहेका सम्बन्धित मन्त्रालयका प्रतिनिधिले परियोजनाका विषयमा विस्तृत छलफल गर्नेछन् ।'

त्यसैगरी चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा नेपालसँग हुने सम्झौताका विषयमा छलफल चलिरहेको बताए ।

त्यसको सहजीकरण नेपालस्थित चिनियाँ दूतावासले गरेको हो ।

प्रवक्ता युले नेपाल सरकारलाई चीनको सहयोग रहेको पनि पत्रकार सम्मेलनमा बताए । उनले भने, 'हामी नेपाल सरकार र नेपाली जनतालाई सधँै सहयोग गर्छौं ।' युले चीन सार्कको सदस्य बन्नेतर्फ पनि संकेत गरे । प्रधानमन्त्री नेपालको भ्रमणमा नेपाल र चीनबीच चीन सार्कको सदस्य हुने विषयमा पनि छलफल हुनेछ ? भन्ने प्रश्नमा युले भने, 'हामी सार्कमा समन्वय बढाउन सधँै तयार छौं ।'

चीनले प्रस्ताव गरेको शान्ति तथा मैत्री सन्धि भने प्रधानमन्त्रीको सूचीमा परेको छैन । 'त्यससम्बन्धी चीनले जिज्ञासा राखे आन्तरिक छलफल जारी छ भनेर टार्ने रणनीति बनेको छ,' स्रोतले भन्यो । शनिबारदेखि हुने प्रधानमन्त्री नेपालको पाँचदिने चीन भ्रमणमा ३६ सदस्यीय टोली रहनेछ । त्यसमध्ये १५ सरकारी खर्च र बाँकी आफ्नै खर्चमा चीन भ्रमण गर्नेछन् । आफ्नै खर्चमा चीन भ्रमणमा जानेहरू निजी क्षेत्र र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि छन् ।

सरकारी खर्चमा चीन भ्रमणमा जानेमा प्रधानमन्त्री नेपाल र श्रीमती गायत्री नेपालबाहेक उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, ऊर्जामन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव मदन भट्टराई, अर्थसचिव रामेश्वर खनाल छन् । त्यसबाहेक टोलीमा योजना आयोग उपाध्यक्ष युवराज खतिवडा, परराष्ट्र मन्त्रालय प्रोटोकल डिभिजन प्रमुख मोहकृष्ण श्रेष्ठ, साउथइस्ट, नर्थइस्ट, फारइस्ट एन्ड प्यासिफिक डिभिजनका उपसचिव मुक्ति भट्ट, प्रधानमन्त्रीका विदेश सल्लाहकार राजन भट्टराई, दुई सुरक्षाकर्मी, दुई पत्रकार र एक चिकित्सक छन् ।



हस्ताक्षर हुने

१५ करोड युयानको आर्थिक तथा प्राविधिक सहयोग

एक करोड युयानको मानव संसाधन र प्रशिक्षण परियोजना

चीन विकास बैंक र नेपाल राष्ट्र बैंकबीच आर्थिक कारोबार

युथ एक्स्चेन्ज

प्रस्ताव गरिने

४ सय मेगावाटको नलस्याउगाड जलविद्युत्

मध्य पहाडी राजमार्ग

तातोपानी-जोमसोम-पोखरा फास्ट ट्रयाक

बाग्लुङ-लुम्बिनी-पोखरा फास्ट ट्रयाक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
Link : http://www.ekantipur.com/np/news/news-detail.php?news_id=304051

No comments: