काठमाडौ, भाद्र ११ - सरकारले राष्ट्रसंघीय महासभा अध्यक्ष पदमा आफ्नो उम्मेदवारलाई जिताउन रणनीतिक पहल तीव्र पारेको छ । सरकार सार्क राष्ट्रमा नेपालका तर्फबाट महासभा अध्यक्ष पदमा प्रस्तावित उम्मेदवार कुलचन्द्र गौतमलाई सर्वसम्मत बनाउने प्रयासमा लागेको छ ।
त्यसपछि सरकारले गौतमको उम्मेदवारी एसियामै सर्वसम्मत बनाउने प्रयत्न गर्नेछ । त्यसका लागि नेपालले उक्त पदको अर्को प्रत्यासी एसियाली मुलुक कतारलाई उम्मेदवारी फिर्ता गराउन पहल गर्नेछ ।
यसबारे प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार र बिहीबार नेपालस्थित सार्क राष्ट्रका राजदूतसँग परामर्श गरेका छन् । प्रधानमन्त्री नेपालले बुधबार नेपालका लागि भारतीय राजदूत राकेश सुद र बिहीबार श्रीलंकाका राजदूत थोसापाला हेवगे र पाकिस्तानी राजदूत महामहिम सैयद अब्बर हुसेन र बंगलादेशी राजदूत इम्तियाज अहम्मदसँग छुट्टाछुट्टै परामर्श गरे ।
प्रधानमन्त्रीले ती राजदूतहरूसँग एसियाली मुलुकका तर्फबाट नेपालले पहिलो पटक महासभाको अध्यक्षमा उम्मेदवारी दिन लागेकाले सहयोगका लागि आग्रह गरे । 'राजदूतहरूले सकारात्मक जवाफ दिनुभएको छ,' प्रधानमन्त्री नेपालका विदेश मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने, 'यही सिलसिलामा उहाँले सोमबार एसियाली मुलुकका राजदूतसँग कुराकानी गर्ने कार्यक्रम छ ।'
परराष्ट्र मन्त्रालयले करिब डेढ महिनाअगाडि विभिन्न देशमा रहेका आफ्ना कूटनीतिक नियोगलाई पत्र लेखी नेपालको तर्फबाट गौतमको पक्षमा लबिङ गर्न निर्देशन दिएको थियो । नेपालस्थित विदेशी नियोगमा भने परराष्ट्र आफैंले पत्राचार गरी लबिङ सुरु गरेको थियो । प्रधानमन्त्री नेपालले एसियाका सरकार तथा राष्ट्र प्रमुखलाई करिब २ साताअगाडि पत्राचार गरी नेपालको तर्फबाट गौतमको उम्मेदवारीको पक्षमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
महासभामा उम्मेदवारको पक्षमा कस्तो रणनीति लिने भन्नेबारे बुधबार प्रधानमन्त्री नेपालले कांग्रेस, एमाले, मधेसी जनाधिकार फोरमलगायतका राजनीतिक दलसँग छलफल गरेका थिए । यही विषयमा सरसल्लाह र आन्तरिक तयारी गर्न राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य न्युयोर्कबाट सोमबार नेपाल आइपुगेका छन् ।
http://epaper.ekantipur.com/showtext.aspx?boxid=155429921&parentid=8598&issuedate=2782010
प्रकाशित मिति: २०६७ भाद्र ११ ०८:३६
No comments:
Post a Comment