भिआइपी सम्मान दिन अस्वीकार गर्ने परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीबीच विवाद, उनी नेपाल आएको कोरियाली दूतावासलाई पनि थाहा छैन
साउदी अरेबियाका उपमन्त्री अब्दुल ऐर अन्सार नेपाल आएको परराष्ट्रलाई थाहा छैन, तर उनले शुक्रबार प्रधानमन्त्रीलाई भेट्दै छन्
नयाँ पत्रिका
काठमाडौं, १४ असोज
धर्मप्रचारमा कोरियाबाट आएका एक कोरियाली धर्मभीरूलाई नेपाल सरकारले उच्चओहोदाका विदेशीलाई दिने 'भिआइपी' सुरक्षा र सुविधा दिएको छ । ती धर्मभीरूको कूटनीतिक ओहोदा र नेपाल आगमनबारे स्वयं कोरियाली दूतावासलाई पनि थाहा छैन ।
कोरियाली धर्मभीरूलाई नेपालमा कूटनीतिक सम्मान दिने विषयमा परराष्ट्र मन्त्रालयले आपत्ति प्रकट गरेको थियो । तर, प्रधानमन्त्री माधवकुमार नेपालको सोझो दबाबमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र प्रहरीले पनि उनलाई भिआइपीस्तरको सुविधा र सुरक्षा दिएको छ । तर, यी धर्मभीरू सहभागी हुने कार्यक्रमका लागि विभिन्न विद्यालयका विद्यार्थीबाट २५/२५ रुपैयाँ नगद उठाइएको छ ।
धर्मभीरू ह्युनलाई भिआइपी सुविधा दिन निर्देशन दिँदै प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, परराष्ट्रका अधिकारीहरूले धर्मभीरूलाई भिआइपी सुविधा दिनु कूटनीतिक मर्यादाको पनि उल्लंघन हुने बताउँदै प्रधानमन्त्रीको आदेश नमान्ने बताएका थिए । यो विषयमा प्रधानमन्त्री नेपाल र परराष्ट्रका अधिकारीबीच पटक-पटक विवाद भएको थियो । तर, विवादबीच बिहीबार काठमाडौं विमानस्थल ओर्लिएका ह्युन भिआइपी कक्षबाट आएका थिए ।
तर, उनी नेपाल आएको विषयमा नेपालस्थित कोरियाली दूतावास र कोरियास्थित नेपाली दूतावासलाई जानकारी नभएको परराष्ट्र स्रोतले जनाएको छ । 'ह्युन कोरियाली सरकारी अधिकारी होइनन् र उनलाई उच्चओहोदाका विदेशीलाई दिइने सुरक्षा र सुविधा दिनुपर्ने जरुरी छैन,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'उनको हैसियत धार्मिक नेताको मात्रै हो ।'
विदेशी राजदूत, नेपाल सरकारका सचिव र त्योभन्दा माथिका उच्चओहोदाका अधिकारीहरूलाई मात्रै भिआइपी कक्ष खोल्ने निर्णय निकै अघि सरकारले गरेको हो । तर, प्रधानमन्त्रीको निरन्तर दबाब आएपछि विमानस्थलको भिआइपी कक्ष खोल्न मन्त्रालयका नायव शिष्टाचार महापालद्वारा हस्ताक्षरित पत्र पठाइएको स्रोतको भनाइ छ । 'प्रधानमन्त्री र मुख्यसचिवले सीधै परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईलाई फोन गरेर ह्युनलाई भिआइपी सुविधाका लागि दबाब दिए,' परराष्ट्र स्रोतले भन्यो, 'ह्युनलाई नेपाल आमन्त्रण गर्नेहरू बिहीबार मन्त्रालय आएर शिष्टाचार अधिकारीहरूलाई तीव्र दबाब पनि दिए ।'
ह्युन मध्याह्न १२:४५ मा काठमाडौं ओर्लंदा विमानस्थलको भिआइपी कक्ष प्रयोग भएको विमानस्थलमा खटिएका सुरक्षाकर्मीले नयाँ पत्रिकालाई जानकारी दिए । तर, परराष्ट्रबाट उनको स्वागतका लागि विमानस्थलमा कोही पनि गएनन् ।
भिआइपी विदेशी पाहुनाका लागि सरकारले एकजना सुरक्षागार्ड, भिआइपी कक्षबाट आगमन र प्रस्थान, परराष्ट्रका एकजना प्रोटोकल अफिसर र भ्रमणका क्रममा भेटघाटको प्रबन्ध परराष्ट्रले मिलाउने गर्दछ । तर, ह्युन यस्ता भिआइपी भए जसले परराष्ट्रका अधिकारीको सहयोग पाएका छैनन् । 'परराष्ट्रले असन्तुष्टि जाहेर गर्न अफिसर नखटाइएको हो,' एक अधिकारीले भने ।
ह्युन गत वर्ष पनि नेपाल आएको र प्रधानमन्त्री र मुख्यसचिवकै दबाबमा गत वर्ष पनि भिआइपी सुरक्षा दिइएको जानकारी स्रोतले दियो । मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्टले भने ह्युनको नेपाल भ्रमणबारे आफूलाई जानकारी नभएको बताए ।
ह्युन कोरियास्थित मुख्य कार्यालय रहेको क्रिश्चियन धर्म प्रचारक संस्था युनिफिकेसन चर्च र युनिभर्सल पिस फेडरेसनका प्रमुख हुन् । उनी धार्मिक नेता सन् म्युङ मुनका तेस्रो छोरा हुन् । ग्लोबल पिस फेडरेसनको आयोजनामा दशरथ रंगशालामा हुने कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन् ।
शुक्रबार कार्यक्रमको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्नेछन् । 'शान्तिसम्बन्धी र्याली भएकोले सामान्य रूपले राष्ट्रपति जान लाग्नुभएको हो,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बिहीबार साँझ नयाँ पत्रिकासित भने ।
उता साउदी अरेबियाका वातावरण उपमन्त्री अब्दुल ऐर अन्सार पनि बिहीबारै नेपाल आएका छन् । परराष्ट्रलाई जानकारी नगराई नेपाल आएका उनले शुक्रबार प्रधानमन्त्री नेपाललाई भेट्दै छन् । 'विदेशी मन्त्रीले मुलुकमा प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ, तर परराष्ट्र मन्त्रालयलाई पत्तो छैन,' परराष्ट्र स्रोतले आश्चर्य प्रकट गर्दै भन्यो, 'तर प्रधानमन्त्रीलाई समेत कूटनीतिक मर्यादा थाहा छैन, हामी कहाँ गएर बोल्नु ?'
No comments:
Post a Comment