काठमाडौ, चैत्र १० - जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना ६ सय ३० मेगावाट क्षमतामा बन्ने भएको छ । आयोजना विकास समितिले आइतबार यस्तो निर्णय गरी परामर्शदाता ट्र्याक्टवेल इन्जिनियरिङलाई विस्तृत परियोजना अध्ययन (डीपीआर) गर्न पत्राचार गरेको छ ।
'आज (आइतबार) बूढीगण्डकी जलविद्युत् आयोजना ६ सय ३० मेगावाट क्षमतामा बनाउने निर्णय गर्र्यौं,' समितिका कार्यकारी अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले भने, 'आजै परामर्शदाता कम्पनीलाई डीपीआर सुरु गर्न पत्राचार पनि गरिसक्यौं ।' परामर्शदाता ट्र्याक्टवेल इन्जिनियरिङले गत फागुन १७ गते बूढीगण्डकी आयोजना निर्माण गर्न विभिन्न विकल्पसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार क्षमताका आधारमा आयोजना निर्माणका लागि २ विकल्प र संरचनाका आधारमा ३ विकल्प दिइएको थियो ।
परामर्शदाता ट्रयाक्टवेल इन्जिनियरिङले आयोजना ६ सय ३० र ९ सय ४५ मेगावाट क्षमतामा निर्माण गर्न सकिने प्रतिवेदन बुझाएको थियो । त्यस्तै ट्रयाक्टवेल इन्जिनियरिङले आयोजना निर्माणका लागि 'ड्यामसाइट पावरहाउस', 'सर्ट टनेल पावरहाउस' र 'लङ टनेल पावरहाउस' गरी ३ प्रकारको संरचनागत विकल्प प्रस्तुत गरेको थियो । 'हामी पहिलो विकल्प -६ सय ३० मेगावाट र ड्यामसाइट पावर हाउस) मा गयौं,' कार्यकारी अध्यक्ष देवकोटाले भने ।
ड्यामसाइट पावर हाउसमा आयोजनाको पावर हाउस ड्याममै वा ड्यामकै छेउमा निर्माण गरिन्छ ।
सर्ट टनेल पावर हाउसमा जाँदा आयोजनाको पावर हाउस करिब डेढ किलोमिटर टाढा बेनीघाटमा बनाउनुपर्छ । त्यस्तै लङ टनेल पावर हाउस विकल्पमा आयोजनाको पावर हाउस ड्यामपदेखि करिब ८ किलोमिटर टाढा फिस्लिङ भन्ने ठाउँमा बनाउनुपर्छ । पावर हाउसम्म जमिनमुनि टनेल निर्माण गरी पानी ल्याएर विद्युत् उत्पादन गर्नुपर्छ ।
संरचना जुन बनाए पनि आयोजनाको स्तरोन्नति गरी क्षमता बढाएर ९ सय ४५ मेगावाट बनाउन सकिन्छ । आयोजना ६ सय ३० मेगावाट क्षमताको बनाउँदा लागत करिब २ खर्ब ९ अर्ब रुपैयाँ लाग्ने परामर्शदाताको अनुमान छ ।
आयोजनाको क्षमता विस्तार गरी ९ सय ४५ मेगावाटको बनाउँदा करिब १४ अर्ब रुपैयाँले बढेर २ खर्ब २३ अर्ब पुग्ने प्रतिवेदनमा उल्लेख छ । 'पिक आवरमा धेरै विद्युत् चाहिए क्षमता बढाउनु राम्रो हो,' देवकोटाले भने, 'क्षमता बढाए पनि विद्युत् उत्पादनमा त्यति
अन्तर छैन ।
त्यही भएर भविष्यमा आवश्यक परे क्षमता वृद्धि गर्न सक्ने गरी ६ सय ३० मेगावाट क्षमतामा आयोजना निर्माण गर्ने निर्णय गरेका हौं ।' प्रतिवेदनअनुसार आयोजना ६ सय ३० मेगावाट क्षमतामा निर्माण गर्दा वाषिर्क औसत २ हजार ४ सय ३० गिगावाट प्रतिघन्टा विद्युत उत्पादन हुन्छ ।
क्षमता बढाई अयोजना ९ सय ४५ मेगावाटको बनाउँदा वाषिर्क औसत २ हजार ५ सय २४ गिगावाट प्रतिघन्टा विद्युत् उत्पादन हुन्छ । 'क्षमता वृद्धि गर्दा पिक आवरमा करिब ५/६ घन्टा विद्युत् उत्पादन गरिन्छ भने क्षमता नबढाउँदा लामो समय निरन्तर विद्युत् उत्पादन गर्न सकिन्छ,' देवकोटाले भने ।
समिति सञ्चालक समितिले बिहीबार विज्ञको राय लिएर आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै विज्ञको रायका आधारमा समितिले आयोजना ६ सय ३० मेगावाट क्षमतामा निर्माण गर्ने निर्णय गरेको हो । विज्ञ टोलीमा अर्थशास्त्री दीपेन्द्रबहादुर छेत्री,
जलस्रोतविद् ईश्वरराज वन्त, सोमनाथ पौडेल, गोविन्दराज भट्ट, समाजशास्त्री बोधनारायण श्रेष्ठ र भूगर्भविद् लालु पौडेल छन् ।
परामर्शदाताले अबको ८ महिनामा डीपीआर निर्माण गरिसक्छ । त्यसको ९ महिनामा टेन्डर प्रक्रिया सकिई आयोजना निर्माण सुरु हुन्छ । आयोजनाको विद्युत् उत्पादन लागत प्रतियुनिट ६ रुपैयाँ ३३ पैसा मात्र छ ।
प्रकाशित मिति: २०७० चैत्र १० १२:३५
No comments:
Post a Comment