Sunday, September 5, 2010

परराष्ट्रमा ठाउँ अभाव, नियमित काम प्रभावित

काठमाडौ, भाद्र २१ - ओबर्थर टेक्नोलोजिज्लाई ठाउँ उपलब्ध गराएपछि परराष्ट्र मन्त्रालयमा ठाउँ अभाव भएको छ । त्यसले मन्त्रालयको नियमित काम कारबाहीसमेत प्रभावित बनेको छ ।

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्न भौतिक पूर्वाधार जडान तथा निर्माणका लागि सम्झौताअनुरूप परराष्ट्रले शुक्रबार मन्त्रालय भवनको भुइ तल्लाको आधा ठाउँ उपलब्ध गराएको हो ।

उक्त ठाउँबाट परराष्ट्रले पाँचवटा काउन्टर खडा गरी राहदानी जारी गर्दै आएको थियो भने अतिथि सत्कार विभाग र परराष्ट्रको क्यान्टिन पनि सोही ठाउँमा थिए । परराष्ट्रले शनिबार बाँकी आधा ठाउँमा सरसामान सारी आइतबारदेखि परराष्ट्रमन्त्रीको स्वकीय सचिवको कार्यालयबाट राहदानी जारी गर्न थालेको छ ।

ठाउँ सानो भएकाले परराष्ट्रले राहदानी जारी गर्ने काउन्टर संख्या घटाएर चारवटा बनाएको छ । 'ठाउँ सानो भएर यताउता गर्न पनि कठिनाइ छ, मानिस हिँड्ने प्यासेजमा बसेर राहदानी जारी गर्नुपरेको छ,' एक कर्मचारीले भने ।

ठाउँ अभाव भएकाले अतिथि सत्कार विभाग र क्यान्टिन कहाँ सार्ने भन्ने विषयमा परराष्ट्र अन्योल छ । राहदानी जारी गर्न सजिलोका लागि भुइँ तल्लाको बाँकी भागमा रहेको दुई नायब शिष्टाचार महापाल अर्जुनकान्त मैनाली र धनबहादुर ओलीको कार्यकक्ष परराष्ट्र सचिवसँगै चौथो तलामा सारिएको छ । राहदानी शाखाकी उपसचिव सेवा अधिकारी, एनआरएन परिचयपत्र वितरण गर्ने कार्यालय, परराष्ट्रमन्त्री र शिष्टाचार महापाल मुक्तिनाथ भट्टको कार्यकक्ष भुइँ तलामै छ । 'शिष्टाचार महाशाखा छरिएर रहँदा नियमित काम प्रभावित बन्छ,' एक अधिकारीले भने, 'परराष्ट्र नयाँ भवनमा नसरेसम्म यो अस्तव्यस्त जारी रहन्छ ।'

परराष्ट्रलाई सिंहदरबारमा नयाँ भवन उपलब्ध गराइए पनि उक्त भवन निर्माण कार्य पूरा नसकिएकाले तुरुन्त सर्न सक्ने अवस्था छैन । तर विभिन्न देशका कूटनीतिज्ञ आउने भएकाले परराष्ट्रलाई राहदानी लिन आउने मानिसको भीडयुक्त वातावरणमा काम गर्न अप्ठ्यारो छ । त्यही भएर परराष्ट्र किस्ताबन्दीमा सिंहदरबार सर्ने योजनामा छ । 'निर्माण भइसकेको तलामा सकभर यही साताभित्र परराष्ट्रको महत्त्वपूर्ण महाशाखा सिंहदरबार सर्छ,' मन्त्रालयका एक उच्च अधिकारीले भने । परराष्ट्रका महत्त्वपूर्ण महाशाखामा मन्त्री, सचिव र राष्ट्रसंघसहित राजनीतिक महाशाखा पर्छन् । परराष्ट्रको केन्द्रीय राहदानी कार्यालय र कन्सुलर शाखा भने सिंहदरबार सर्ने छैन । सर्वसाधारणलाई सजिलो बनाउन सक्दो प्रयत्न गरिनेछ, शिष्टाचार महापाल भट्टले भने ।


http://epaper.ekantipur.com/showtext.aspx?boxid=31558906&parentid=8796&issuedate=692010

प्रकाशित मिति: २०६७ भाद्र २१

No comments: