Thursday, September 20, 2012
आगोसँग खेलबाड
लोकमणि राई
काठमाडौं, भाद्र ३० - अन्डरग्राउन्ड पार्किङमा रहेको जेनेरेटरमा लागेको आगो करिब अढाई मिटर पर रहेको डिजेल ट्यांकीसम्म फैलिन पाएन । मलेसियामा त्यहीँको मापदण्डअनुसार निर्मित इभरसेफ ब्रान्डको फायर एक्सि्टङ्गुइसरले दमकल नआउँदासम्म १०/१० हजार लिटर डिजेल भरिएका ३ वटा ट्यांकीसम्म आगो फैलिन दिएन । गत भदौ ६ गते राजधानीको प्रमुख व्यापारिक मल सिटी सेन्टर ठूलो दुर्घटनाबाट जोगियो ।
तर सेनाको कडा सुरक्षामा रहेको मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लागे सिटी सेन्टर जस्तो भाग्यमानी नहुन सक्छ । सरकारले एक्स्िटङ्गुइसर मापदण्ड र कानुन नबनाउँदा प्रधानमन्त्री कार्यालयमा राखिएका एक्सिटङ्गुइसरसमेत नक्कली छन् । भारतमा बनेका ती एक्सिटङ्गुइसर 'फेज आउट' मात्र होइन भारतीय मापदण्डविपरीत समेत छन् ।
प्रधानमन्त्री कार्यालयमा फायर इक्विप, मेजिसियन, अग्नि रक्षक र रिलायबल ब्रान्डका एक्सिटङ्गुइसर छन् । गुजरातको अग्नि रक्षक इञ्जिनियर्सले बनाएको अग्नि रक्षकमा भारतीय गुणस्तर चिह्न -आईएस मार्क) समेत छैन । भारतमा एक्स्िटङ्गुइसरमा आईएस मार्क अनिवार्य छ । 'आईएस मार्क नभएको एक्स्िटङ्गुइसर सक्कली होइन छ,' अल्फा फायर ब्रान्डको नक्कली एक्सिटङ्गुइसर बिक्रेता लक्ष्मणदत्त ओझाले भने ।
अग्नि रक्षक एक्सिटङ्गुइसर कारोबार गर्ने रामदत्त ओझाले उक्त एक्स्िटङ्गुइसर नक्कली नभएको दाबी गरे । 'भारतले अग्नि रक्षकजस्तो एक्सिटङ्गुइसरको मापदण्ड ५/६ महिनाअघि मात्र जारी गरेको हो । त्यसभन्दा अघि बनेकाले अग्नि रक्षकमा आईएस मार्क नभएको हो,' उनले भने । तर भारतले एक्सिटङ्गुइसरसम्बन्धी मापदण्ड सन् १९९३ मै जारी गरेको हो । उक्त एक्सिटङ्गुइसर निर्माता भनिएको अग्नि रक्षक इन्जिनियर्स एक्सिटङ्गुइसर कम्पनीलाई लाइसेन्स जारी गर्ने मानक ब्युरोको सूचीमै छैन ।
फायर इक्विप निर्माता महाराष्ट्रकै पिटर अटोकिट्सले ५ किलोको एक्सिटङ्गुइसर बनाउने लाइसेन्स नै पाएको छैन । एक्सिटङ्गुइसरमा उल्लेख भएअनुसार पिटर अटोकिट्सको लाइसेन्स नम्बर ७३३१०५८
हो । मानक ब्युरोको वेबसाइटअनुसार यो नम्बरको लाइसेन्स ६ किलोको एक्सिटङ्गुइसर बनाउन जारी गरिएको हो, ५ किलोका होइन, बिक्रेता लाइफ एक्स्प्रेस ट्रेडिङ कन्सर्नका निर्देशक रोशन कुमारले उक्त एक्सिटङ्गुइसर नक्कली भएको घुमाउरो भाषामा स्वीकारे । 'सस्तो खोजेकाले भारतको लोकल मार्केटबाट ल्याएको हुँ, नक्कली हो कि सक्कली थाहा छैन,' उनले कान्तिपुरलाई भने ।
रिलायबल ब्रान्डको एक्सिटङ्गुइसर उत्पादक महाराष्ट्रकै रिलायबल फायर इन्जिनियर्सको ७३९७२९० नम्बरको लाइसेन्स मानक ब्युरोको वेबसाइटले रद्द भइसकेको देखाउँछ । मेजिसियन ब्रान्डको एक्सिटङ्गुइसरमा भने लाइसेन्स नम्बरलगायत आधिकारिकता खुल्ने सूचना छैन । उक्त एक्स्िटङ्गुइसर निर्माता दिल्लीको फायरेल सिस्टम लिमिटेडसमेत मानक ब्युरोको सूचीमा छैन ।
भारतीय गुणस्तरअनुसार आईएस मार्क, उत्पादन मिति, सिरियल नम्बरजस्ता आधिकारिकता पुष्टि गर्ने सूचना एक्स्िटङ्गुइसरमा स्थायी रूपमा रहने गरी लेखिएको, छापिएको वा कुँदिएको हुनुपर्छ । तर प्रधानमन्त्री कार्यालयमा भएका लगभग सबै एक्स्िटङ्गुइसरमा यस्ता सूचना सजिलै च्यातेर वा उप्काएर फाल्न सकिने कागजको स्टिकरमा टाँसिएका छन् । कतिपय स्टिकर च्यातिनसमेत थालेका छन् । 'स्थापित कम्पनीले मापदण्ड पुर्याएर बनाएका गुणस्तरयुक्त एक्स्िटङ्गुइसरमा आधिकारिकता खुल्ने सूचना नमेटिने गरी लेख्न कञ्जुस्याइँ गरेर जोखिम मोल्छ भन्ने मलाई लाग्दैन,' नेपाल वायु सेवा निगमका एभिएसन सेक्युरिटी डिपार्टमेन्ट निमित्त निर्देशक कृष्णबहादुर थापा भन्छन् ।
सिंहदरबारमा भएका अधिकांश एक्सिटङ्गुइसरमा राजधानीकै बीएम सप्लायर्स नामक कम्पनीको स्टिकर टाँसिएको छ । त्यसका सञ्चालक ध्रुवकुमार श्रेष्ठले एक्सिटङ्गुइसर नक्कली नै नहुने दाबी गरे । प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले एक्स्िटङ्गुइसरका खासै जानकारी नभएको बताए । 'म आउनुअघि नै ती एक्सिटङ्गुइसर यहाँ राखिएका थिए,' उनले भने, 'भरेर तयारी हालतमा राखिएको छ भन्छन् । प्राविधिक कुरा बुझ्नुपर्छ ।'
प्रधानमन्त्री कार्यालय मात्र होइन सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा राखिएका एक्सिटङ्गुइसर पनि त्यस्तै छन् । गृह मन्त्रालयमा प्रधानमन्त्री कार्यालयमै भएको अग्नि रक्षक र फायर इक्विप ब्रान्डको नक्कली, मापदण्ड पूरा नगरी बनाइएका र फेज आउट एक्सिटङ्गुइसर छन् । वाणिज्य आपूर्ति मन्त्रालयमा बीसी क्लासको फायर इक्विप ब्रान्डको एक्सि्टङ्गुइसर छ । त्यसको निर्माता पनि पिटर अटोकिट्स नै हो । एक्स्िटङ्गुइसरमा उल्लेख भएअनुसार बीसी क्लासको एक्सिटङ्गुइसर निर्माण गर्न पिटर अटोकिट्सले ०९६२८६६ नम्बरको लाइसेन्स लिएको देखिन्छ । तर उक्त नम्बरको लाइसेन्स खारेज भइसकेको छ रिफल गर्ने म्याद ३ वर्षअघि सकिएका ती एक्स्िटङ्गुइसर त्यत्तिकै राखिएका छन् ।
उता अर्थ मन्त्रालयमा प्रधानमन्त्री कार्यालयमा रहेकै फायर इक्विप र अग्नि रक्षक ब्रान्डको नक्कली एक्सिटङ्गुइसर राखिएका छन् ।
व्यवसायीहरूले कमिसनको चलखेल, मूल्यमा अस्वस्थ प्रतिस्पर्धा र बढी नाफा कमाउने प्रलोभनमा भारतको 'लोकल मार्केट' बाट एक्सिटङ्गुइसर ल्याएको बताएका छन् । लाइफ एक्स्प्रेसका निर्देशक कुमारले अस्वस्थ प्रतिस्पर्धाका कारण बजारमा टिक्न थुप्रै व्यवसायीले भारतबाट नक्कली फायर एक्स्िटङ्गुइसर ल्याउने गरेको स्विकारे । नेपाल आउने लगभग सबै एक्सिटङ्गुइसर ५ किलोको एबीसी क्लासका छन् । ती स्टोर प्रेसरयुक्त भएकाले कुनै पनि बेला आफैं पडकन सक्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने व्यवसायीहरू नै बताउँछन् ।
फेज आउट पनि बीसी क्लासको फायर इक्विप ब्रान्डबाहेक सबै एक्सिटङ्गुइसर भारतीय गुणस्तर आईएसः १३८४९ अनुसार बनाइएको ती एक्सिटङ्गुइसरमा उल्लेख छ । सन् १९९३ मा जारी गरिएको आईएसः १३८४९ मानक ब्युरोले सन् २००६ मा आइएसः १५६८३ लागू गरेर विस्थापित गरिसकेको छ ।
सक्कली एक्सिटङ्गुइसर कस्तो हुन्छ ?
आईएस १५६८३ अनुसार सक्कली एक्सिटङ्गुइसरमा त्यसलाई चलाउने, रिफिल गर्ने र अनुगमन तथा मर्मत गर्ने जानकारी हुन्छ । त्यसमा एक्सिटङ्गुइसरको क्लास, प्रकार, मोडल नम्बर, फायर रेटिङ -आगो निभाउन सक्ने क्षमता), सिरियल नम्बर, उत्पादन मिति, कम्पनीले गरेको प्रेसर परीक्षण, प्रयोग गर्न सकिने तापक्रम, आइस मार्क, लाइसेन्स नम्बर र कम्पनीको नाम र ठेगाना उल्लेख गरिनुपर्छ । यी सूचना नष्ट गर्न नसकिने गरी एक्सिटङ्गुइसरमा राखिनु/टाँसिनुपर्ने व्यवस्था खारेजीमा परेको आईएस १५६८३ र नयाँ आईएस १३८४९ ले गरेको छ ।
फायर क्लास भनेको के हो ?
अस्ट्रेलिया, एसिया, अमेरिका र युरोपमा काठ, कागज, रबर, प्लास्टिक र जैविक पदार्थबाट लाग्ने आगोलाई 'ए' क्लासमा वर्गीकरण गरिएको छ । अस्ट्रेलिया, एसिया मटितेल र डिजेलजस्ता प्रज्वलनशील तरल पदार्थबाट लाग्ने आगोलाई 'बी' र खाना पकाउने ग्यासजस्ता प्रज्वलनशील ग्यासबाट लाग्ने आगोलाई 'स' क्लासमा राखिएको छ । यी दुवै प्रकारका आगोलाई युरोप र अमेरिकामा 'बी' क्लासमा वर्गीकरण गरिएको छ । आगोको प्रकृतिअनुसार एक्सिटङ्गुइसर वर्गीकरण गरिएको हुन्छ । 'डी' क्लासको आगो भन्नाले सोडियम, टिटानमलगायत प्रज्वलनशील धातुबाट लाग्ने आगो भनेर बुझिन्छ । विद्युत्बाट लाग्ने आगोलाई एसिया र अस्ट्रेलियमा 'ई' क्लास, अमेरिकामा 'सी' क्लास र युरोपमा 'एफ' र 'डी' क्लासमा वर्गीकरण गरिएको छ । त्यस्तै तेल र घिउजस्ता पदार्थबाट लाग्ने आगोलाई एसिया, अस्ट्रेलिया र युरोपमा 'एफ' र अमेरिकामा 'के' क्लासमा वर्गीकरण गरिएको छ ।
प्रकाशित मिति: २०६९ भाद्र ३० ०९:०७
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment