Thursday, September 20, 2012
बजार अनुगमन हालसम्मकै उच्च
लोकमणि राई
काठमाडौ, भाद्र २१ - वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले साउन महिनामा हालसम्मकै उच्च बजार अनुगमन गरेको छ । विभागको तथ्यांकअनुसार साउनमा १ सय ३२ व्यवसायमा अनुगमन भएको छ । यो संख्या गत साल यही महिनामा भएको भन्दा करिब ६३ प्रतिशत बढी हो । गत साल साउनमा विभागले ८१ व्यवसायमा अनुगमन गरेको थियो । उक्त संख्या त्यस अवधिसम्मकै सबैभन्दा बढी थियो ।
अनुगमन उच्च रूपमा बढे पनि कानुनी जटिलताका कारण कारबाहीको संख्या भने नगन्य छ । विभागले साउनमा अनुगमनमा परेका १ सय ३२ मध्ये एउटा व्यवसायलाई मात्र बन्द गरी ठोस कारबाही गरेको छ । बाँकी व्यवसायले सुधारको निर्देशनसहित उन्मुक्ति पाएका छन् ।
विभागका निर्देशक प्रेमप्रसाद पौडेलले कारबाहीको संख्या कम हुनुको कारण कानुनी जटिलता रहेको संकेत गरे । 'कतिपयले थाहा नपाएर गल्ती गरेको जस्तो देखिन्छ,' उनले भने, 'तर अब प्रायोजित रूपमा गल्ती गरेको फेला परे कारबाही गरिन्छ ।' विभागको उपभोक्ता हित शाखा प्रमुखसमेत रहेका पौडेलले गल्ती गर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्न सजिलो नरहेको संकेत गरे । 'लेबल नभएका सामान बेच्नेलाई कानुनी कारबाही गर्न सरकारी वकिलको राय लिनुपर्ने र अदालत पुग्नुपर्ने अवस्था छ,' उनले भने, 'यति सानो मुद्दाका लागि यसो गर्नुको खासै अर्थ हुन्न ।'
तर उनले लेबल नभएका सामानमा लेबल राख्न निर्देशन दिइएको, म्याद नाघेका खाद्य तथा पेय पदार्थ 'अन स्पट' नष्ट गरिएको, गुणस्तरमा शंका लागेका खाद्य तथा पेय पदार्थ परीक्षणका लागि पठाइएकोलगायत थुप्रै कारबाही भएको बताए । 'अनुगमन बढेकाले बजारमा सुधारका क्रम पनि बढेको देखिएको छ,' उनले भने ।
विभागले अनुगमनमा परेका १ सय ३२ व्यवसायमध्ये १० वटा व्यवसायबाट संकलित खाद्य पदार्थको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाएको छ । तथ्यांकअनुसार विभागले साउनमा म्याद नाघेका १ सय १३ लिटर हल्का पेय पदार्थ, २ प्याकेट गुट्खा, ४ प्याकेट, ३ लिटर जुसलगायत सामान नष्ट गरको छ । त्यस्तै साउनमा ३ सय १ प्याकेट फेस प्याक -क्रिम) १७ किलो चामल, १४ थान औषधि र १ दर्जन बिस्कुट पनि नष्ट गरेको छ ।
अनुगमनमा ८० प्रतिशत व्यवसायमा कुनै न कुनै प्रकारका त्रुटि भेटिने गरेको पौडेलले बताए । 'करिब २० प्रतिशत व्यवसायमा मात्र कैफियत भेटिँदैन,' उनले भने । साउनमा भएको अनुगमनमा कैफियत भेटिएका ३० व्यवसायलाई मूल्यसूची राख्न र अद्यावधिक गर्न, ३० व्यवसायलाई साइनबोर्ड राख्न, ३२ व्यवसायलाई लेबल नभएका सामान नबेच्न र २३ व्यवसायलाई नापतौल प्रमाणपत्र पेस गर्न निर्देशन दिइएको छ । त्यस्तै २ व्यवसायलाई खाद्य अनुज्ञापत्र पेस गर्न, ११ व्यवसायलाई सरसफाइ सुधार्न, २० व्यवसायलाई भ्याट वा प्यानको प्रमाणपत्र लिन र बिलबिजक प्रयोग गर्न र २१ व्यवसायलाई म्याद नाघेका सामान नबेच्न निर्देशन दिइएको छ ।
प्रकाशित मिति: २०६९ भाद्र २१ ०९:२६
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment