Thursday, September 20, 2012

वाणिज्य विभागद्वारा अधिकतम मूल्य सिफारिस

काठमाडौ, भाद्र २२ - वाणिज्य विभागले अति आवश्यक खाद्य पदार्थको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको छ । उपभोग्य वस्तुमा व्यापारीले मनपरी मूल्य लिन थालेपछि अधिकतम लिन पाउने मूल्यको सीमा तोक्न विभागले सिफारिस गरेको हो । अधिकतम मूल्य तोकिएपछि त्यसभन्दा बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्ने तयारी विभागले गरेको छ । व्यापारिक संगठनले मूल्यसूची उपलब्ध नगराएपछि विभागले बजार मूल्य हेरेर आफैं मूल्यसूची तय गरेको हो । विभागले व्यवसायीलाई अधिकतम मूल्यसूची उपलब्ध गराउन बुधबारसम्मको समय दिएको थियो । 'व्यापारीलाई बुधबारसम्म पख्र्यौं,' विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भने, त्यतिन्जेल उनीहरूले मूल्यसूची नपठाएपछि सिफारिस गरेका हौं ।' महानिर्देशक बिडारीका अनुसार विभिन्न ८ प्रकारका अत्यावश्यक वस्तुको न्यूनतम र अधिकतम मूल्य तोक्ने तयारी भएको छ । ती वस्तुमा मसिनो, मन्सुली र मोटा चामल, मास, मसुरो, रहर र मुगका दाल, तोरी, भटमास र सूर्यमुखी तेल छन् । यस्तै केराउ, चना र बोडीका जात, आटा, मैदा, नुन, चिनी र च्युराको मूल्य तोक्न सिफारिस गरिएको बिडारीले जानकारी दिए । अत्यावश्यक पदार्थ नियन्त्रण अधिकार ऐन प्रयोग गरेर विभागले वस्तुको मूल्य तोक्न लागेको हो । सरकारले तोकेको मूल्यभन्दा बढी लिएको पाइए सरकारले कालोबजारी अभियोगमा कारबाही गर्न सक्ने छ । प्रकाशित मिति: २०६९ भाद्र २२ ०९:५०

No comments: